close

नेपालमा बसी ‘वनएक्स बेट’ लगायतका अनलाइन जुवा खेलाउने १४ भारतीय पक्राउ

टेकपाना टेकपाना

मंसिर ५, २०८१ १०:४८

नेपालमा बसी ‘वनएक्स बेट’ लगायतका अनलाइन जुवा खेलाउने १४ भारतीय पक्राउ

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा सञ्चालन गरेको आरोपमा रूपन्देहीबाट १४ भारतीय नागरिक पक्राउ परेका छन् । मङ्गलबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका–३ मा रहेको अस्पाक आलमको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी नवीन पौडेलका अनुसार कार्यालयलाई एक व्यक्तिको घरमा अनलाइन गेम खेलाउने काम भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । उक्त टोलीले १४ जना भारतीय नागरिकलाई अनलाइन सट्टेबाजीका विभिन्न प्लेटफर्म सञ्चालन गरिरहेको अवस्थामा फेला पारेको हो ।

डीएसपी पौडेलका अनुसार पक्राउ परेका व्यक्तिहरूले सबैभन्दा पहिले ह्वाट्सएपमा टाइगर ग्रुप, शिभ ग्रुप, विनायक ग्रुप जस्ता समूह बनाएका थिए । तिनै समूहहरूमा क्रिकेट, फुटबल, टेनिस, हक्की, हर्स रेसजस्ता अनलाइन गेमहरू सञ्चालन गरिन्थ्यो ।

बाजी राख्नका लागि उनीहरूले वनएक्स बेट, लर्ड्स एक्सचेन्ज, एल प्यानल, अल प्यानल ७७७, साफरोन, ताज ००७, क्लासिक एक्स ९९, गो एक्स ९ जस्ता वेबसाइटहरू प्रयोग गरेका थिए । यी वेबसाइटहरू अनलाइन सट्टेबाजीका लागि विशेष रूपमा परिचित छन् ।

प्रहरीले उनीहरूको साथबाट ४० थान स्मार्टफोन, तीन थान ल्यापटप र दुई थान राउटर बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको हरियाणा प्रदेशका साहिल सोडा (३३) र अनुराग सिंह (२४), उत्तराखण्डको रानिडिया जिल्लाका श्याम गुप्ता (१८), उत्तर प्रदेशको देवरिया जिल्लाका रवि जैशवाल (२०), गोरखपुर जिल्लाका दिपक जैशवाल (२१), रजत कुमार (२२), लक्की जैशवाल (१८), सतेन्द्र कुमार (२१), प्रियान्सु जैशवाल (२०) र आजमगढ जिल्लाका शिवम सिंह (२५) रहेका छन् । त्यसैगरी, आजमगढकै नितेश बर्मा (१९), अवधेश कुमार (२५), मोहित कुमार (१८) र मनिष पासवान (१९) रहेका छन् ।

उनीहरूको औसत उमेर २१ वर्ष रहेको प्रहरीको भनाइ छ । रूपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८१ १०:५३