close

काठमाडौंका यी ठाउँमा आज दिउँसो बिजुली नआउने

टेकपाना टेकपाना

मंसिर ८, २०८१ ९:१७

काठमाडौंका यी ठाउँमा आज दिउँसो बिजुली नआउने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शनिबार पाँचदेखि सात घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र अन्तर्गतका न्युरोड, महाबौद्ध र कालीमाटी फिडरका क्षेत्रमा मर्मत कार्यका कारण विद्युत् कटौती गर्न लागिएको हो ।

न्युरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, दमकल गेट, वसन्तपुर डबली, झोसे, ओमबहाल र हनुमानढोकाका क्षेत्रमा बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

महाबौद्ध फिडर अन्तर्गत पर्ने महाबौद्ध सव स्टेशन, न्युरोड गेट, रञ्जना हल, विशालबजार र गणेश स्थान ट्रमा हस्पिटल पछाडिका क्षेत्रहरूमा पनि यही समयमा विद्युत् नआउने जनाइएको छ ।

कालीमाटी फिडरअन्तर्गत टेकु, नेसनल ट्रेडिङ, रामघाट, परोपकार, ढोकाटोल, नरदेवी हस्पिटल र भुरुङ्गखेलका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले बांगो पोल सिधा गर्ने, जीर्ण पोल र ट्रान्सफर्मर बदल्ने कामका लागि फिडर सटडाउन गर्ने निर्णय गरेको हो । तोकिएको काम निर्धारित समयभन्दा अघि सम्पन्न भए विद्युत् सेवा समयअघि नै सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

विद्युत् कटौतीले स्थानीय बासिन्दालाई असुविधा भए पनि यसले दिगो र प्रभावकारी सेवा सुनिश्चित गर्न सहयोग पुग्ने प्राधिकरणको भनाइ छ । 

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८१ ९:२१