close

एआई सिस्टममा आक्रमण गरेको भन्दै टिकटकले पूर्व कर्मचारी विरुद्ध हाल्यो मुद्दा, १४ करोड क्षतिपूर्ति माग

टेकपाना टेकपाना

मंसिर १४, २०८१ १४:५२

एआई सिस्टममा आक्रमण गरेको भन्दै टिकटकले पूर्व कर्मचारी विरुद्ध हाल्यो मुद्दा, १४ करोड क्षतिपूर्ति माग

काठमाडौं । टिकटकको मातृ कम्पनी बाइटडान्सले आफ्नो एआई प्रणालीमा आक्रमण गरेको आरोपमा एक पूर्व इन्टर्नविरुद्ध ८० लाख युआन (करिब १४ करोड ८८ लाख रुपैयाँ) क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । कम्पनीले आफ्नो एआई लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) को प्रशिक्षण संरचनामाथि जानाजान आक्रमण गरिएको भन्दै बेइजिङस्थित हाईडियान जिल्ला जनअदालतमा मुद्दा दायर गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यो घटनाले चीनको एआई प्रविधि विकास र प्रतिस्पर्धाको तीव्र वातावरणमा व्यापक चासो खिचेको छ । चिनियाँ सञ्चारमाध्यम लीगल वीकलीका अनुसार आरोपित व्यक्ति तियान केयु हुन्, जो बाइटडान्सका पूर्व इन्टर्न हुन् ।

कम्पनीले तियानलाई आफ्नो एआई प्रणालीमा हानी पुर्‍याउने उद्देश्यले कोडमा हस्तक्षेप गरी अनधिकृत रूपमा परिमार्जन गरेको आरोप लगाएको छ । तियानले कम्पनीको एआई मोडेल परीक्षण प्रक्रियामा जानाजान अवरोध गरेको आरोप पनि लगाइएको छ ।

बाइटडान्सको आन्तरिक मेमोका अनुसार तियानले कोडमा हस्तक्षेप गरी लाखौं डलरको क्षति पुर्‍याएको उल्लेख छ । कम्पनीले यसले ८,००० भन्दा बढी ग्राफिक्स प्रोसेसिङ युनिट (GPU) मा असर पारेको दाबी गरेको छ । बाइटडान्सले गत अक्टोबरमा सामाजिक सञ्जालमार्फत तियानलाई अगस्टमा बर्खास्त गरिएको जानकारी दिएको थियो ।

यो मुद्दा चीनमा एआई प्रविधि विकास र प्रतिस्पर्धाको तीव्र पृष्ठभूमिमा महत्त्वपूर्ण ठहरिएको छ । लीगल वीकलीका अनुसार इन्टर्नविरुद्ध यति ठूलो रकमको मुद्दा दुर्लभ मानिन्छ । एलएलएम, जसले ठूला डेटाको आधारमा पाठ, फोटो वा अन्य सामग्री उत्पादन गर्न प्रयोग गरिन्छ, तीव्र रूपमा विकसित हुँदै गरेको जेनेरेटिभ एआई प्रविधिको मुख्य हिस्सा हो ।

तियान पेकिङ विश्वविद्यालयका स्नातकोत्तर विद्यार्थी रहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, बाइटडान्सले लगाएका आरोपहरू हालसम्म पुष्टि भएका छैनन् ।

-रोयटर्सबाट

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८१ १५:१९