काठमाडौं । अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । एक नेपाली आईटी कम्पनीले विकास गरेको यो सफ्टवेयरमा अब बिल इन्ट्री गर्ने प्रक्रियालाई अझ छिटो र सजिलो बनाउन टिग एआई फिचर समावेश गरिएको हो ।
व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने प्रक्रिया आफैमा लामो र झन्झटिलो हुन्छ । तर अब यो प्रक्रियालाई टिग एआईले निकै सजिलो बनाउने कम्पनीको दाबी छ ।
टिगमा राखिएका बिलहरू अब एआईले नै स्वतः सिस्टममा राखिदिने छ । प्रयोगकर्ताहरूलाई सहज, सरल र छिटो सुविधा प्रदान गर्ने उद्देश्यसहित टिग एआई फिचर ल्याइएको टिगका सीईओ रमेश केसीले बताए ।
"एआई फिचरले समयको बचत मात्रै गर्दैन । यसले समग्र प्रक्रियालाई नै सहज बनाउँछ," उनले भने, "टिग एआईले भविष्यको अकाउन्टिङलाई प्रतिनिधित्व गर्दछ । अकाउन्टिङ क्षेत्रलाई रूपान्तरण गर्न हामी एक कदम अगाडि बढेका छौँ । यसले अकाउन्टेन्टहरूलाई पनि सशक्तीकरण गर्नेछ ।"
प्रयोगकर्ताहरूले टिगमा बिलहरूको फोटो अपलोड गरेपछि एआई फिचर प्रयोग गर्न 'स्क्यान विथ एआई' बटनमा क्लिक गर्नु पर्ने हुन्छ । त्यसपछि सिस्टमले बिल रिड गर्छ र आफै स्वतः सिस्टममा समावेश हुन्छ ।
अनि एआईले स्वतः राखेको विवरण सही भएको वा नभएको जाँच गरेर थप मिलाउनु पर्ने भए मिलाउन सकिन्छ । एआई फिचरको प्रिन्टेड बिलमा ९९ प्रतिशत र हातले लेखेको बिलामा ९५ प्रतिशत सत्यता रहेको कम्पनीले जनाएको छ । म्यानुअल इन्ट्रीभन्दा टिग एआईबाट बिल इन्ट्री गर्दा ११५ गुणा बढी छिटो हुने दाबी गरिएको छ ।
टिग एआईले नेपाली भाषा समेत सपोर्ट गर्छ । कम्पनीका अनुसार टिगको एआई सुविधाले म्यानुअल रूपमा डेटा इन्ट्री गरी रहनुपर्ने समस्या अन्त्य गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो व्यवसायमा थप समय दिन मद्दत गर्नेछ ।
प्रयोगकर्तालाई छिटो र सहज सेवा दिने कार्यलाई टिगले सधैँ पहिलो प्राथमिकतामा राख्दै आएको छ । त्यसै अनुसार एआई फिचर ल्याइएको हो । यो सुरुवात मात्र भएको र अकाउन्टिङ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन एआई फिचर ल्याएर आउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
टिग क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर हो । देशभर पाँच हजार बढी साना तथा मझौला व्यवसायले प्रयोग गरिरहेको यो सफ्टवेयर आईएसओ सर्टिफाइड समेत हो ।