close

फेसबुकमा एक्कासि के देखिन थाल्यो यस्तो ?

टेकपाना टेकपाना

मंसिर २४, २०८१ १०:२०

फेसबुकमा एक्कासि के देखिन थाल्यो यस्तो ?

काठमाडौं । फेसबुकको वेब भर्सनमा अजिबको समय देखिएको छ । सोमबार बिहानदेखि फेसबुकले नेपालको क्षेत्रमा अनौठो समय देखाउन थालेको हो । 

सामान्यतः फेसबुकमा अपलोड भएका पोस्ट, फोटो वा भिडिओ कति समय अघि अपलोड भएका हुन् भन्ने समय अकाउन्ट नामको तलपट्टि देखिन्छ । त्यसमा एक साताभन्दा पुरानो पोस्ट छ भने दिन र महिना उल्लेख गरिएको हुन्छ ।

पोस्ट अपलोड भएको एक साता पुगेको छैन भने त्यसमा १ मिनेट, १० मिनेट, एक घण्टा, २३ घण्टा, एक दिन, ६ दिन भनेर देखाउँछ । मोबाइल एपमा सटीक मिति देखाइ रहेको भए पनि ब्राउजरमा भने अजीवको कोड देखिएको छ ।

सामाजिक सञ्जालमा पनि केही नेपाली प्रयोगकर्ताले यस्तो हुनुको कारण खोजिरहेका छन् । प्रविधिमा रुचि राख्नेहरूको एउटा फेसबुक ग्रुप आस्क बडीमा पोस्ट राख्दै प्रयोगकर्ताले यस्तो हुनुका यथार्थ खोजिरहेका छन् ।

यसो हुनुका पछाडिको यथार्थ कारण भने बाहिर आइसकेको छैन । यस विषयमा बाहिरका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि कुनै समाचार राखेका छैनन् । सम्भवतः फेसबुक ग्लिचका कारण यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ । 

केही प्रयोगकर्ताले मोबाइल एपमा पनि यस्तो समस्या सामना गरेको बताएका छन् । तर, यो समाचार तयार पार्ने बेलासम्म फेसबुकको मोबाइल एपमा भने यस्तो समस्या हटिसकेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८१ १०:२८