close

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्री पौडेलले सुरु गरे हेलो सरकार जस्तै हेलो हेल्थ

टेकपाना टेकपाना

मंसिर २४, २०८१ २०:५

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्री पौडेलले सुरु गरे हेलो सरकार जस्तै हेलो हेल्थ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न हेलो हेल्थ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न हेलो हेल्थ स्थापना गरेका हुन् ।

टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्नो गुनासो राख्न सकिनेछ । यसैगरी भाइबर र ह्वाट्स एपका लागि ९८५१३३०५९२ नम्बर उपलब्ध गराइएको छ । जसमा मेसेज पठाएर गुनासो टिपाउन सकिने बताइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, ईमेलमार्फत गुनासो दर्ता गर्न हेल्लो हेल्थ एट एमओएचपी डट जिओभी डट एनपी उपलब्ध गराइएको छ । यससँगै अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासोहरू टेलिफोन, ह्वाट्सएप, भाइबर, ईमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरिएको मन्त्री पौडेलले बताए । "तपाईँले भोगेका समस्या तथा गुनासो हामीलाई पठाउनु होला," उनले भने ।

मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डाक्टर अनुप बास्तोलाको संयोजकत्वमा गत मङ्सिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेका थिए । सोही एकाइले हेलो हेल्थ एकाइका लागि आवश्यक तयारी गरेर सेवा सुरु गरेको हो ।

मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरिप्रसाद आचार्य सदस्य छन् । यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरू माध्य मसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८१ २०:५