काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका बस्दै आएका ३१ वर्षीय रोशन भण्डारी रहेका छन् ।
साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंबाट आरोपी भण्डारीलाई नियन्त्रणमा लिएको हो । पीडित युवतीका अनुसार फेसबुकमार्फत साथी बनेका भण्डारीसँग कुराकानी बढ्दै गएपछि उनीहरू प्रेम सम्बन्धमा बाँधिए । यो सम्बन्ध विवाहसम्मको योजना बनाउने तहमा पुगेको थियो ।
तर भण्डारीले युवतीप्रति शंका गर्ने, उनलाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने व्यवहार देखाएपछि युवती असन्तुष्ट भइन् र सम्पर्कबाट टाढा बसिन् ।
भण्डारीले युवतीलाई सम्पर्कमा ल्याउने सबै प्रयास विफल भएपछि उनले युवतीको गोप्य फोटो उनका आफन्तलाई ह्वाट्सएपमार्फत पठाएर मानसिक दबाब सिर्जना गर्ने प्रयास गरे ।
बेलाबखत भेटिरहेका र प्रेम सम्बन्धमा रहेका युवकले आवेशमा आई आफन्तलाई फोटो पठाएर चरित्रहत्या गरेपछि युवतीले ब्युरोमा उजुरी दिइन् । ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार युवतीले दिएको निवेदनको आधारमा प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दा भण्डारीको संलग्नता रहेको भेटिएको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई ब्युरोले अनुसन्धान थालेको छ ।