close

डाँडाकाँडामा पनि आरामले हिँड्न थाल्यो टेस्लाको मानवरुपी रोबोट

टेकपाना टेकपाना

मंसिर २६, २०८१ १७:२०

डाँडाकाँडामा पनि आरामले हिँड्न थाल्यो टेस्लाको मानवरुपी रोबोट

काठमाडौं । टेस्लाले आफ्नो ह्युमानोइड रोबोट अप्टिमसको नयाँ खुबी देखाउँदै एक अनौठो भिडिओ सार्वजनिक गरेको छ, जहाँ यो रोबोट डाँडाकाँडा र कठिन भू-भाग सहजै पार गर्दै हिँडिरहेको देख्न सकिन्छ ।​

‘टेस्ला अप्टिमस’ अकाउन्टबाट पोस्ट गरिएको यो भिडिओमा अप्टिमसले न्युरल नेटवर्कको प्रयोग गरी अस्थिर जमिनमा पनि सन्तुलन कायम गरेको देखाइएको छ । टेस्ला मालिक एलन मस्कले यो भिडिओ कोट रिपोस्ट गर्दै भनेका छन्, “अब अप्टिमसले न्युरल नेटमार्फत विद्युतीय अङ्गलाई नियन्त्रण गर्दै अति अस्थिर जमिनमा हिंड्न सक्छ ।” साथै, उनले रियल वर्ल्ड एआई सिस्टममा रुचि राख्नेहरूलाई टेस्लामा जोडिन पनि आग्रह गरेका छन् । 

यसअघि सो रोबोटलाई रिमोटबाट नियन्त्रण गरिएको भन्ने विषयमा समाचार आएका थिए । मस्कले त्यसैलाई लक्षित गर्दै अप्टिमस रोबोट रिमोटबाट भन्दा पनि न्युरल नेटवर्कबाट नियन्त्रित भएको जनाएका छन् ।

भिडिओमा अप्टिमसले उकालो ओरालो सजिलै गर्दा सन्तुलन बिग्रिए पनि तुरुन्तै आफ्नो शरीरलाई नियन्त्रण गरेको देख्न सकिन्छ । भिडिओको अन्तिमतिर भने रोबोट अनियन्त्रित हुन्छ र तत्कालै नियन्त्रण गरेको देख्न सकिन्छ ।

भिडिओ सेयर गर्दै अप्टिमसका इन्जिनियर मिलन कोवाचले लेखेका छन्, “यो परीक्षण चिप्लो र जोखिमपूर्ण भू-भागमा गरिएको हो, जहाँ म आफैं पनि हिँड्दा चिप्लिएको थिएँ । तर, अप्टिमसले आँखाले नदेख्ने अवस्थामै केवल अन-बोर्ड सेन्सर र न्युरल नेटको प्रयोग गरी आफ्नो सन्तुलन कायम राख्यो ।” 

टेस्लाले अब अप्टिमसलाई लड्ने अवस्थामा कम क्षति हुने गरी लड्न सिकाउन र डिरेक्सन कमान्डलाई अझ प्रभावकारी बनाउने काममा केन्द्रित गरेको छ । यस रोबोटको क्षमताले भविष्यमा यो कठिन कामहरू गर्न सक्षम हुने देखिएको छ ।

“टेस्ला त्यस्तो स्थान हो, जहाँ वास्तविक संसारको एआई विकास भइरहेको छ,” कोवाचले भनेका छन् । साथै, टेस्लाले यस परियोजनामा रुचि राख्नेहरूलाई अवसर उपलब्ध गराउन आफ्नो करियर पेजको लिङ्क पनि सेयर गरेको छ ।

यो नयाँ क्षमतासहितको प्रदर्शनले टेस्ला अप्टिमस रोबोटलाई भविष्यमा विभिन्न चुनौतीपूर्ण कामहरू गर्न सक्षम बनाउने स्पष्ट संकेत दिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८१ १७:२५