काठमाडौं । ओपनएआईका पूर्व अनुसन्धानकर्ता २६ वर्षीय सुचिर बालाजी मृत फेला परेका छन् । २६ नोभेम्बरमा उनी सान फ्रान्सिस्को स्थित अपार्टमेन्टमा मृत फेला परेको खबर हालै बाहिरिएको छ ।
बालाजी कसैको सम्पर्कमा नभएपछि उनका साथीहरूले सान फ्रान्सिस्को प्रहरीलाई खबर पठाएका थिए । बालाजीलाई खोज्ने क्रममा फ्ल्याटमा मृत फला परेको बताइएको छ । सहरको प्रमुख मेडिकल परीक्षकको कार्यालयले उनको मृत्युको कारण आत्महत्या भएको पुष्टि गरेको हो ।
“प्रहरी र चिकित्सक घटनास्थलमा पुगेपछि एक वयस्क पुरुषको शव फेला पारे, जुन आत्महत्या भएको जस्तो देखिन्थ्यो । प्रारम्भिक अनुसन्धानमा कुनै आपराधिक गतिविधिको प्रमाण फेला परेका छैनन्,” प्रहरीको बयान उद्धृत गर्दै सान फ्रान्सिस्को क्रोनिकलले लेखेको छ ।
बालाजीले गत अगस्टममा मात्र ओपन एआईबाट राजीनामा दिएका थिए । उनले एआई कम्पनीको अभ्यासबारे चिन्ता व्यक्त गरेका थिए ।
आफू अनुसन्धानकर्ता रहेको ओपनएआईले च्याटजीपीटी विकास गर्ने क्रममा अमेरिकी प्रतिलिपि अधिकार (कपिराइट) कानुनको उल्लङ्घन गरेको उनको आरोप थियो । यस एआई प्रणालीले विश्वव्यापी रूपमा लोकप्रियता हासिल गर्दै सयौं मिलियन प्रयोगकर्ताको पहुँच बनाइसकेको छ ।
२०२२ को अन्त्यतिरको च्याटजीपीटीको सुरुवातले लेखक, प्रोग्रामर र पत्रकारबाट कानूनी चुनौतीहरूको सामना गरिरहेको थियो । उनीहरूले कम्पनीले आफ्नो प्रतिलिपि अधिकारयुक्त सामग्रीलाई अवैध रूपमा प्रयोग गरेर आफ्नो टुल विकास गरेको र १५० अर्ब डलरभन्दा बढीको भ्यालुएसन पुर्याएको आरोप लगाएका थिए ।
२३ अक्टोबरमा न्युयोर्क प्रकाशित टाइम्सको अन्तर्वार्तामा बालाजीले ओपनएआईले च्याटजीपीटी प्रशिक्षणका लागि प्रयोग गरिएको जानकारीका कारण व्यवसाय र उद्यमीलाई नकारात्मक असर पुर्याइरहेको बताएका थिए । “यदि तपाईंले म जे विश्वास गर्छु त्यसलाई विश्वास गर्नुभयो भने तपाईंले कम्पनी छोड्नैपर्छ,” उनले टाइम्सलाई भनेका थिए, “यो इन्टरनेटको सम्पूर्ण प्रणालीका लागि दिगो मोडेल होइन ।”
उनको अन्तिम पोस्टमा बालाजीले न्युयोर्क टाइम्सले अन्तर्वार्ताका लागि उनीसँग सम्पर्क गरेको भन्ने भ्रम चिर्दै भनेका थिए, “न्युयोर्क टाइम्सले यस लेखका लागि मसँग सम्पर्क गरेको होइन । मैले नै उनीहरूलाई सम्पर्क गरेको थिएँ किनभने मलाई लाग्यो कि मेरो दृष्टिकोण रोचक हुनेछ । मैले अहिलेको जेनेरेटिभ एआई बबलभन्दा पहिले नै यस्ता प्रणालीहरूमा काम गरेको छु । यो ओपनएआई विरुद्धको मुद्दासँग सम्बन्धित होइन । मलाई न्युयोर्क टाइम्स राम्रो पत्रिका लाग्छ, त्यसैले अन्तर्वार्ता दिएको हुँ ।”
उनको मृत्युले सामाजिक सञ्जालमा प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कले एक्समा रहस्यमय रूपमा “हमम” (Hmm) लेख्दै उक्त घटनाको प्रतिक्रिया जनाएका छन् ।
बालाजीको मृत्युको यस घटनाले ओपनएआईमाथि थुप्रै आशंका उब्जाएको छ । उनले मृत्युको बाटो किन रोजे भन्ने मुद्दा मुख्य बहसको विषय बनेको छ ।