काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने तयारी गरेको छ । प्रविधि बजारमा नयाँ आविष्कार र प्रतिस्पर्धा बढाउने रणनीतिसहित कम्पनीले नयाँ ब्रान्ड ल्याउन लागेको हो ।
पहिले ‘जोभी’ नाम भिभोको एआई असिस्टेन्ट र केही सिस्टम एपहरूमा प्रयोग गरिएको थियो । अब यो नाम स्मार्टफोन ब्रान्डका रूपमा अगाडि बढ्न लागेको छ ।
यो जानकारी जीएसएमए डाटाबेसबाट प्राप्त भएको हो । उक्त डाटाबेसमा जोभी ब्रान्डका तीन ओटा नयाँ स्मार्टफोन सूचीकृत छन् ।
तीमध्ये जोभी भी५०, जोभी भी५० लाइट फाइभजी, र जोभी वाई३९ फाइभजी रहेका छन् । यी स्मार्टफोनका मोडेल नम्बरहरू भिभोका वर्तमान स्मार्टफोनहरूसँग मेल खाने देखिएको छ ।
जोभी भी५० र भिभो भी५० को मोडेल नम्बर उस्तै (V2427) रहेको छ भने जोभी भी५० लाइट फाइभजी र भिभो भी५० लाइट फाइभजी को मोडेल नम्बर पनि उस्तै (V2440) छ । भिभोले पुराना डिभाइसहरूलाई पुनः ब्रान्डिङ गर्न लागेको विश्लेषण गरिएको छ ।
भिभोले भने हालसम्म ‘जोभी’ ब्रान्डबारे कुनै औपचारिक घोषणा गरेको छैन ।