काठमाडौं । नेपाली बजारमा ७ ओटा सिट भएको बीवाईडी एम सिक्स ईभीको बुकिङ खुलेको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले नयाँ ईभी मोडेलका लागि बुकिङ खुलाएको हो ।
कम्पनीको दाबी अनुसार यो नेपालकै पहिलो प्रिमियम सेभेन सिटर इलेक्ट्रिक मल्टी युटिलिटी भेहिकल (एमपीभी) गाडी हो । सिट नै सात ओटा भएकाले यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने बताइएको छ ।
कम्पनीले यस गाडीको प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकेको छ । त्यस्तै हाल गाडी बुकिङ गर्ने ग्राहकलाई २४ डिसेम्बरसम्मका लागि एक लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
१०० किलोवाटको मोटर रहेको यस गाडीले ४४० किलोमिटर रेन्ज दिने बताइएको छ । यस गाडीले ११५ किलोवाटको फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । यसबाट गाडीलाई ३७.४ मिनेटमा फुल चार्ज गर्न सकिने बताइएको छ ।
त्यस्तै सुरक्षाका लागि यसमा ६ ओटा एयरब्याग उपलब्ध गराइएको छ । गाडीमा पानारोमिक ग्लास रुफ सहित ५८० लिटरको बुट स्पेस रहेको छ । यसैगरी एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, पार्किङ सेन्सर लगायतका फिचर गाडीमा रहेका छन् ।