काठमाडौं। मोबाइलबाट फोटो तथा भिडिओ खिच्ने क्रममा स्कुल नर्स र विद्यार्थी सहित दुई जनाको मृत्यु भएको छ । मेन्छयायेम स्थित तेह्रथुम हाइड्रो पावर कम्पनी नजिकैको खोलामा खसेर शनिबार उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमकी प्रमुख डीएसपी चिनिमाया तामाङका अनुसार स्थानीय एक घरमा डेरा गरी बस्ने नर्स र विद्यार्थी गरी ६ जनाको समूहमा घुम्न निस्किएका थिए । सोही क्रममा खोला माथि रहेको ढुङ्गामा चढेर भिडिओ तथा फोटो खिच्ने क्रममा दुवै जना खसेको र घटनास्थलमै उनीहरूको मृत्यु भएको हो । ढुङ्गाबाट लडेर दुवै जना खोला जमेर बनेको निलो हरियो तलाउमा खसेका थिए ।
मृत्यु हुनेमा तेह्रथुम मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी अन्दाजी २३/२४ वर्षकी नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षकी छात्रा सुस्मिता भट्टराई रहेकी छन् । साथमा रहेकी अर्की विद्यार्थी अञ्जली पोदारले दुवै जना तलाउमा खसेको खबर ल्याएको बताइएको छ । नर्स राजवंशीको घर विराटनगर भएको बताइएको छ ।
दुर्घटनाबाट विच्छिप्त अञ्जलीलाई शनिबार रात परिसकेकाले केरकार नगरिएको र आज सोधपुछ गरी घटनाबारे थप अनुसन्धान हुने डीएसपी तामाङले बताइन् । “फोटो/भिडिओ खिच्न प्रयोग भएको मोबाइल मृतकको साथमा छ कि छैन, त्यो पनि खानतलासी गर्न भ्याएका छैनौँ,” उनले भनिन्, “थप अनुसन्धानपछि मात्र यस विषयमा थप भन्न सकिएला ।”