काठमाडौं । विश्व अर्थतन्त्रमा हुने परिवर्तनसँगै ठूला कम्पनीहरूको बजार मूल्य (मार्केट क्याप) धेरैको चासोको विषय बनेको छ । खासगरी कस्ता कम्पनीको मूल्य बढ्दै गइरहेको छ भन्ने धेरैको जिज्ञासा हुन्छ ।
फोर्ब्सका अनुसार यस वर्ष बजार मूल्यको आधारमा शीर्ष १० कम्पनीमध्ये प्रविधि क्षेत्रका नौ कम्पनी रहेका छन् । आज हामी तिनै कम्पनीको बारेमा छोटोमा चर्चा गर्दैछौं:
१.एप्पल
हालका सीईओ: टिम कुक
स्थापना वर्ष: १९७६
देश: अमेरिका
एप्पल इङ्क बजार मूल्यका हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी हो । यो कम्पनी आईफोन, आईप्याड र म्याक जस्ता प्रडक्टका कारण प्रसिद्ध छ । प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने एप्पलको प्रतिबद्धता र उच्च गुणस्तरीय डिजाइनले उपभोक्तालाई आकर्षण गरेको छ ।
२. एनभिदिया
हालका सीईओ: जेन्सेन हुआङ
स्थापना वर्ष: १९९३
देश: अमेरिका
एनभिदिया हालैका वर्षहरूमा बढी चर्चामा आएको छ । यस कम्पनीले स्वतन्त्र ग्राफिक्स प्रोसेसिङ युनिट (GPU) निर्माणमा नेतृत्व गरेको छ । बजारमा आएका चर्चित च्याटबट जस्तै च्याटजीपीटी, ग्रोक र जेमिनाईलाई सञ्चालन गर्न सक्ने जीपीयू एनभिदियाले नै निर्माण गर्ने गर्छ ।
३. माइक्रोसफ्ट
हालका सीईओ: सत्य नडेला
स्थापना वर्ष: सन् १९७५
देश: अमेरिका
माइक्रोसफ्ट कर्पोरेसनले विन्डोज अपरेटिङ सिस्टम र अफिस सफ्टवेयर जस्ता प्रमुख उत्पादन प्रदान गर्छ । सफ्टवेयरका अतिरिक्त क्लाउड कम्प्युटिङ र हार्डवेयरमा समेत यसको उपस्थिति छ । माइक्रोसफ्टको प्रभाव सफ्टवेयरभन्दा बाहिर पनि फैलिएको छ । कम्पनीले क्लाउड कम्प्युटिङ र हार्डवेयरमा लगानी गरिरहेको छ । पछिल्लो समय चर्चामा आएको एआई क्षेत्रमा पनि माइक्रोसफ्टले आफूलाई उसैगरी उभ्याउने प्रयास गरिरहेको छ ।
४. अमेजन
हालका सीईओ: एन्डी ज्यासी
स्थापना वर्ष: सन् १९९४
देश: अमेरिका
अमेजन डटकम इङ्क विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी हो । यस कम्पनीको क्लाउड कम्प्युटिङ सिस्टम अमेजन वेब सर्भिस सबैभन्दा बढी प्रयोग हुनेमध्येको सिस्टम हो । प्राइम भिडिओ जस्तो विश्वचर्चित भिडिओ स्ट्रिमिङ प्लेटफर्म पनि अमेजनकै स्वामित्वमा छ ।
५. अल्फाबेट (गुगल)
हालका सीईओ: सुन्दर पिचाई
स्थापना वर्ष: सन् १९९८
देश: अमेरिका
अल्फाबेट इङ्क गुगलको मूल कम्पनी हो । गुगलको स्थापना सन् १९९८ मा भएको हो । यो कम्पनी रिब्रान्ड भएर सन् २०१५ मा अल्फाबेट भएको थियो । यो कम्पनी सर्च इन्जिन, अनलाइन विज्ञापन, क्लाउड कम्प्युटिङ, सफ्टवेयर र हार्डवेयर क्षेत्रमा क्रियाशील छ । यस कम्पनीको अहिलेको बजार मूल्य २३ खर्ब ४८ अर्ब डलर बढी छ ।
६.साउदी अरेम्को
हालका सीईओ: अमिन एच. नासेर
स्थापना वर्ष: सन् १९३३
देश: साउदी अरब
साउदी अरेम्को तेल तथा ग्यास उद्योगमा क्रियाशील छ ।
७. मेटा प्लेटफर्म (फेसबुक)
हालका सीईओ: मार्क जुकरबर्ग
स्थापना वर्ष: २००४
देश: अमेरिका
मेटा प्लेटफर्म्स सामाजिक सञ्जालको क्षेत्रमा अग्रणी छ । फेसबुकबाट रिब्रान्ड भएर यो कम्पनी मेटा भएको थियो । यस अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, ह्वाट्सएप सबैभन्दा बढी प्रयोगकर्ता हुने प्लेटफर्म हुन् । पछिल्लो समय कम्पनी मेटाभर्सको क्षेत्रमा काम गरिरहेको छ ।
८. टेस्ला
हालका सीईओ: एलन मस्क
स्थापना वर्ष: २००३
देश: अमेरिका
टेस्ला इङ्क विद्युत् सवारीसाधन र हरित ऊर्ज उत्पादनमा काम गर्दै आएको छ । यस कम्पनीले निर्माण गरेका स्वचालित टेस्ला गाडीहरू सबैभन्दा बढी बिक्री हुने गाडीमा पर्छन् । गाडीबाहेक पछिल्लो समय टेस्ला स्वचालित रोबोट बनाउनमा पनि केन्द्रित छ ।
९. ब्रडकम
हालका सीईओ: हक ई. टान
स्थापना वर्ष: अगस्ट १९९१
देश: अमेरिका
क्यालिफोर्नियामा आधारित ब्रडकम सेमिकन्डक्टर उद्योगको लहर चढ्दै संसारभरका शीर्ष १० कम्पनीहरूमा स्थान बनाउन सफल भएको छ । डिसेम्बर २०२४ मा यस प्रविधि कम्पनीको मार्केट भ्यालुएसन १० खर्ब डलरको सीमा पार गरेको थियो । अहिले यस कम्पनीको भ्यालुएसन १० खर्ब ६४ अर्ब डलर रहेको छ ।
यो अमेरिकी कम्पनीले सेमिकन्डक्टर र पूर्वाधार सफ्टवेयर उत्पादनको डिजाइन, विकास, निर्माण तथा विश्वव्यापी आपूर्ति गर्दछ । एआईका ठूला खेलाडीका लागि विशेष रूपमा बनाइएका एआई चिप्स उत्पादन गर्नु ब्रडकमका लागि अत्यन्त लाभदायक बनेको छ ।
१०.टीएसएमसी
हालका सीईओ: सीसी वेइ
स्थापना वर्ष: सन् १९८७
देश: ताइवान
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) सेमिकन्डक्टर उद्योगको अग्रणी कम्पनी हो । यो विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र सेमिकन्डक्टर फाउन्ड्री पनि हो । टीएसएमसीको अत्याधुनिक उत्पादन क्षमता र विभिन्न इलेक्ट्रोनिक उपकरणका लागि प्रमुख कम्पोनेन्ट आपूर्ति गर्ने भूमिकाले यसलाई बजार भ्यालुएसनमा शीर्ष कम्पनीमा महत्त्वपूर्ण स्थान दिलाएको छ ।