काठमाडौं । सरकारी निकायका १० वेबसाइट ह्याकरको कब्जामा रहेको पाइएको छ । ह्याक हुनेमा अधिकांश कर्णाली प्रदेश अन्तर्गतका विभिन्न निकायका छन् ।
सामाजिक सञ्जाल लिङ्क्डइनमा एक पोस्ट राख्दै साइबर सुरक्षा अनुसन्धानकर्ता रोदन महर्जनले यस विषयमा जानकारी दिएका छन् । महर्जनका अनुसार यी वेबसाइट ‘वाईएनआर’ नामबाट परिचित ह्याकरको समूहले नियन्त्रणमा लिएको हो ।
“तपाईंको व्यक्तिगत पहिचानयोग्य जानकारी कत्तिको सुरक्षित छ ?,” उनले लेखेका छन्, “नेपालमा हालै सरकारका वेबसाइटहरूमा भएको ह्याकिङ (defacement) एक समूह ‘वआईएनआर’द्वारा गरिएको पहिचान भएको छ ।”
ह्याक भएका वेबसाइटमा ह्याकरको टोलीले आफ्नो लोगो र ह्याक भएको सूचना राखेको छ ।
ह्याक भएका केही वेबसाइटबाट ह्याकरको जानकारी हटाइए पनि अधिकांशमा यथावत् छ । हालै मात्र यसरी नै नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट ह्याक भएको पाइएको थियो ।