काठमाडौं । पछिल्लो केही दिनयता सामाजिक सञ्जाल फेसबुकका भिडिओमा आउने कमेन्ट सेक्सन हेर्नुभयो भने प्रायः एउटै शैलीको प्रतिक्रिया आएको देखिन्छ । विशेषगरी हिन्दी र नेपाली भाषा प्रयोग भएका भिडिओमा युवतीको नाम राखेर ‘केटा चाहिएको’ सूचना राखिएको देख्न सकिन्छ ।
कमेन्टमा युवतीको नाम भएको अकाउन्टबाट लेखिएको छ, “मलाई एक जना प्रेमी चाहिन्छ, कसैलाई मन छ भने मलाई मेसेज गर्नुहोस् ।” हिन्दी भाषामा पनि यस्तै किसिमको कमेन्ट लेखिएको छ । यस्तोमा स्वभावैले पनि युवाहरू बुझ्नलाई इनबक्समा जान्छन् र मेसेज गर्छन् ।
मेसेज गरिसकेपछि तत्कालै एउटा मेसेज आउँछ । कतिपयलाई यो अकाउन्टले कति चाँडो रिप्लाई दिएको भन्ने लाग्न सक्छ । तर, त्यो स्वचालित मेसेज हुन्छ ।
उक्त मेसेजमा लेखिएको हुन्छ, “नमस्ते, म अहिले फ्री छु, यदि तपाइँ भिडिओ कलमा काम गर्न चाहनुहुन्छ भने, तलको लिङ्कबाट खाता खोलेर मलाई थाहा दिनुहोस्, म तपाइँलाई भिडिओ कलमा थप्नेछु ।”
हेर्दा कसैले नेपाली नै बुझेर लेखेको हो भन्ने कतैबाट लाग्दैन । भन्न खोजेको के हो पढ्ने बित्तिकै पनि थाहा हुँदैन । तर पनि केहीले पत्याएर लिङ्क क्लिक गर्छन् ।
किन आइरहेको छ यस्तो कमेन्ट ?
एउटा, दुई ओटा अकाउन्टबाट मात्र होइन, यस्ता कमेन्ट सयौं अकाउन्टबाट आइरहेको छ । तर, कसले किन गरिरहेको छ त यस्तो कमेन्ट ?
यसको पछाडिको कारण माथि उल्लेख गरिएको जस्तो लिङ्क क्लिक गराउने नै हो । त्यस लिङ्कमा के हुन्छ त ? हामीले परीक्षण गरेका अधिकांश लिङ्क क्लिक गर्दा रिडाइरेक्ट भएर अनलाइन बेटिङ साइटमा गएको पायौं । यो लिङ्क बेटिङ साइटसम्म पुर्याउनकै लागि तयार पारिएको भने देखिंदैन । यस्ता लिङ्कलाई ‘रिडाइरेक्ट लिङ्क’, ‘लिङ्क रोटेटर’ वा ‘एफिलियट रिडाइरेक्ट’ भन्ने गरिन्छ ।
यस्तो लिङ्क बनाउने व्यक्तिले जति व्यक्तिलाई उक्त लिङ्कमा क्लिक गरायो त्यति नै आर्थिक फाइदा लिन सक्छ । तर, जसले क्लिक गर्यो उनीहरू भने ठगिन्छन् वा गलत लिङ्कसम्म पुग्छन् । यस्तो लिङ्कले सामान्यतया नचाहेका र शंकास्पद वेबसाइट (जस्तै बेटिङ साइट, मालवेयर साइट) मा प्रयोगकर्तालाई पठाउने गरेको पाइन्छ ।
कमेन्टमा युवतीको नाम राखेर ‘मलाई मेसेज गरेर भिडिओ कल गर्नुहोस्’ भन्नेहरूको आशय पनि एफिलियट लिङ्क फैलाउने नै रहेको देखिन्छ । यस्ता लिङ्कमा क्लिक गर्दा बेटिङ साइटमा पुगियो भने आर्थिक नोस्कानी निम्तिन सक्छ । त्यस्तै मालवेयर लिङ्क रहेछ भने तपाईंको डिभाइसमा सुटुक्क मालवेयर इन्स्टल हुन सक्छ । त्यस्ता मालवेयरले डिभाइसको पर्फमेन्स बिगार्ने, संवेदनशील डेटा चोरी गर्ने काम गर्छन् ।
यस्ता अन्य थुप्रै जोखिम भएकाले त्यसरी फेसबुकको कमेन्ट वा कुनै ग्रुपको पोस्टमा राखिएका असम्बन्धित लिङ्क क्लिक नगर्न साइबर सुरक्षा अनुसन्धानकर्ता सुझाव दिंदै आएका छन् । पछिल्लो समय फेसबुकमा क्लिकबेट पोस्ट राखेर यस्तै अनावश्यक लिङ्कमा क्लिक गराउने गतिविधि बढेको देखिन्छ । यसबाट पनि सचेत रहन साइबर सुरक्षा जानकारले अनुरोध गरेका छन् ।