काठमाडौं । जेनेरेटिभ एआईको अग्रणी कम्पनी ओपनएआईले च्याटजीपीटीमा ‘टास्क’ नामक नयाँ फिचर ल्याउने घोषणा गरेको छ । यो फिचर भर्चुअल असिस्टेन्टको रूपमा काम गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।
ओपनएआईले मङ्गलबार घोषणा गरेको यो फिचरले एप्पलको सिरी र अमेजनको एलेक्साजस्तै भर्चुअल असिस्टेन्टको रूपमा प्रतिस्पर्धा गर्ने सङ्केत गरेको छ । यो फिचरमार्फत प्रयोगकर्ताले भविष्यमा आवश्यक पर्ने कामका लागि तत्काल अनुरोध गर्न सक्नेछन् । यसले हप्ताभरिका समाचारहरूको छोटो जानकारी, दैनिक मौसम अपडेट तथा कन्सर्टको टिकेट बुकिङको जानकारीजस्ता सुविधा उपलब्ध गराउने बताइएको छ ।
यो फिचरको प्रस्तुति गुगल अलर्ट्स र पर्सनल क्यालेन्डरसँग मिल्दोजुल्दो देखिएको छ । यद्यपि, यो भर्चुअल असिस्टेन्टको रूपमा कसरी कार्यान्वयन हुन्छ भन्ने विस्तृत जानकारी सार्वजनिक भएको छैन । विज्ञहरूले भने यो फिचर सिरी र एलेक्साको क्षमतासँग मेल खाने र सिधा प्रतिस्पर्धा गर्न सक्ने अनुमान गरेका छन् ।
सन् २०२२ को अन्त्यमा च्याटजीपीटी सार्वजनिक भएपछि जेनेरेटिभ एआईको लोकप्रियता ह्वात्तै बढेको छ, जसका कारण यस क्षेत्रमा लगानीको लहर देखिएको छ । अमेजनले आफ्नो दशक पुरानो घाटामा चलिरहेको एलेक्सा सेवा सुधार गर्दै जेनेरेटिभ एआई क्षमतासहित अपडेट गर्न थालेको छ ।
गत वर्ष डिसेम्बरमा अमेजनका सीईओ एन्डी जेसीले प्रयोगकर्ताको अनुरोध बिना काम गर्न सक्ने एलेक्साको नयाँ संस्करण ल्याउने घोषणा गरेका थिए । यसैगरी, एप्पलले पनि च्याटजीपीटीको विशेषज्ञता प्रयोग गरी आफ्नो ‘सिरी’मा ‘एप्पल इन्टेलिजेन्स’ प्रविधि समावेश गरेको छ ।
ओपनएआईको यो नयाँ फिचर सबैभन्दा पहिले वेब प्लेटफर्ममा उपलब्ध हुनेछ । प्रारम्भमा च्याटजीपीटी प्लस, टिम र प्रो प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् । यो फिचरले भर्चुअल असिस्टेन्ट क्षेत्रलाई नयाँ दिशा दिने सम्भावना रहेको र एप्पल तथा अमेजनजस्ता ठूला कम्पनीहरूसँग ओपनएआईको प्रतिस्पर्धा अझ चर्को बन्ने अनुमान गरिएको छ ।