काठमाडौं । भारतमा मौलाएको डिजिटल अरेस्ट नामक अनलाइन ठगीको स्वरूप नेपालमा पनि देखिन थालेको छ । नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई धम्क्याई ईमेल पठाउने गिरोह सक्रिय भएको पाइएको हो । यस ठगीको जालोमा उद्यमी, धनाढ्य, पेसेवर व्यक्तिदेखि सर्वसाधारणसम्म परेका छन् ।
भारतमा डिजिटल अरेस्टको धन्दा विगत छ महिनादेखि तीव्र रूपमा फैलिएको छ । यस्तो ठगी कार्यमा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई फोन गर्ने र गैरकानुनी गतिविधिमा संलग्न भएको आरोप लगाइन्छ ।
ठगहरूले सबैभन्दा पहिले नक्कली प्रहरी बनेर व्यक्तिलाई फोन गर्छन् र तपाईंको कागजात गैरकानुनी काममा दुरुपयोग भएको छ, जसले गर्दा तपाईं तुरुन्तै पक्राउ पर्नुहुन्छ भनेर विश्वासमा पार्छन् । पक्राउ पर्ने डरले मानिसहरू आत्तिन्छन् र उनीहरूले भनेका कुरा मान्न बाध्य हुन्छन् ।
ठगहरूले डिजिटल र भौतिक गिरफ्तारीको विकल्प दिँदै भौतिक रूपमा पक्राउको डर देखाएर मानिसहरूलाई डिजिटल गिरफ्तारी स्वीकार्न बाध्य पार्छन् । त्यसपछि नक्कली भिडिओ कलमार्फत अदालत र प्रहरी चौकी खडा गरी पीडितबाट रकम असुल्न थाल्छन् ।
अनि बैंक खाताको रकम सरकारी खातामा पठाउनुपर्छ भन्दै आफ्नो खातामा हाल्न लगाउँछन् । यसरी सबै रकम रित्याइसकेपछि उनीहरू फरार हुन्छन् । त्यसपछि मात्र पीडितले आफू ठगिएको थाहा पाउँछन् । पढेलेखेका वर्गमा पर्ने डाक्टर, शिक्षक, उद्यमी, आईटी व्यवसायी यस्ता घटनामा फसेका छन् । उही प्रकृतिको ठगीबाट लाखौं मान्छे ठगिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई सचेत बनाएका थिए । डिजिटल रूपमा पक्राउ गर्ने कुनै कानुन नै नभएकाले यस्तोमा डराउन आवश्यक नभएको भन्दै सर्वसाधारणलाई नफस्न सुझाव दिएका थिए ।
ठीक त्यही प्रकृतिको घटना नेपालमा देखिन थालेको छ । ठगको गिरोहले सर्वसाधारणलाई नेपाल प्रहरीका उच्च अधिकारीको नाम दुरुपयोग गर्दै धम्क्याउन थालेको छ । त्यही धम्की शैलीको ईमेल टेकपानालाई पनि प्राप्त भएको थियो ।
उक्त ईमेलको सब्जेक्टमै अङ्ग्रेजीमा ‘अदालतको आधिकारिक आदेश’ लेखिएको छ । त्यसको तलपट्टि ईमेलमा लेखिएको छ, “केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका क्रममा तपाईंको इन्टरनेटको आईपी ट्राफिक विश्लेषण गर्दा तपाईंको इन्टरनेटबाट अश्लील वेबसाइट पहुँच गरेको देखियो । त्यस्तै तपाईंको उक्त इन्टरनेटबाट नेपालको कानुनले बन्देज लगाएका वालयौनसँग सम्बन्धित भिडिओमा पहुँच पाएको पाइएको छ । त्यसैले तपाईंले अनुसन्धानमा सहयोग गर्न २४ घण्टाभित्र यस ईमेलको रिप्लाई दिनुपर्ने हुन्छ । अन्यथा तपाईं कानुनी कारबाहीमा पर्नुहुन्छ ।”
मेसेज अस्वीकार गरेको खण्डमा पाँच वर्षसम्मको जेल सजाय हुने भन्दै धम्की दिइएको छ । त्यसको तलपट्टि नेपाल प्रहरीका एआईजी टेकप्रसाद राईको नाम राखिएको छ । यस्ता ईमेल बढ्दै गएपछि प्रहरी महानिरीक्षकको सचिवालयले विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा यस्ता धोकापूर्ण ईमेललाई विश्वास नगर्न सचेत गराइएको छ ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले यो डिजिटल अरेस्टकै स्वरूपको घटना भएको बताए । “यो डिजिटल अरेस्ट जस्तै देखिन्छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “तर, त्यो ईमेललाई रिप्लाई दिएपछि त्यसपछिको प्रक्रिया के हुन्छ भन्ने खुलिसकेको छैन । यस्तो ईमेल आएको छ भनेर गुनासो आएको छ तर ठगी भयो भन्ने किसिमको उजुरी वा गुनासो आइसकेको छैन ।”
प्रहरी उपरीक्षक अवस्थीले यस्ता ईमेललाई विश्वास नगर्न सुझाव दिएका छन् । ईमेल कस्तो मेल सेर्भिसबाट आएको छ बुझेर र रिप्लाई गर्नु कत्ति उचित हो भन्ने विषय जानकार व्यक्तिसँग छलफल गरेर मात्र रिप्लाई दिने वा नदिने निर्णय गर्नुपर्ने उनको सुझाव छ । प्रहरीका उच्च अधिकारीको नाम दुरुपयोग गरेर आएका ईमेलहरू जर्मनीको आधिकारिक डोमेनका छन् । यस्तोमा ईमेल कसले पठाएको छ भन्ने विषयमा अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।