काठमाडौं । महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभका राइडर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको साबिक नारायणी नगरपालिका–४ घर भएका २५ वर्षीय प्रविण बराल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले थानकोटबाट उनलाई पक्राउ गरेको हो ।
यो घटना सामाजिक सञ्जाल टिकटकमा एन्जिला खनाल नामकी प्रयोगकर्ताले सार्वजनिक गरेपछि चर्चामा आएको थियो । खनालले चितवनबाट काठमाडौं फर्किने क्रममा इन्ड्राइभ बुक गर्दा राइडरले अनुचित प्रस्ताव राख्दै दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा पक्राउ परेका बरालमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना सार्वजनिक भएपछि इन्ड्राइभले राइडरलाई तत्कालै सस्पेन्ड गरेको छ । साथै, कम्पनीले अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने र यात्रुको सुरक्षाका लागि नयाँ फिचर लागू गर्ने जनाएको छ ।