close

एआई प्रयोग गरेर यसरी पाउन सक्नु हुन्छ आफूले चाहे जस्तो जानकारी

टेकपाना टेकपाना

माघ ९, २०८१ १९:४०

एआई प्रयोग गरेर यसरी पाउन सक्नु हुन्छ आफूले चाहे जस्तो जानकारी

काठमाडौं । तपाईँको दिमागमा पनि हरेक दिन कयौँ जिज्ञासा आउँछन् होला । नयाँ नयाँ विषयमा जानकारी पाउन मन लाग्छ होला । तर गुगलमा तपाईँले खोजेका प्रश्नको जवाफ सधैँ नभेटिन सक्छ । 

गुगल सर्च बटनमा खोजेको नपाइने, विज्ञापन आउने, उस्तै सामाग्रीबाट सबैभन्दा राम्रो सामाग्री छुट्याउन समस्या परिरहेको हुन्छ । अझ गुगल सर्चमा तपाईँको भूगोलको आधारमा आउने जवाफ पनि फरक पर्छ । गुगलले विशिष्ट किसिमका सवालमा जवाफ दिन नसक्ने वा धेरै जवाफ दिएर बुझ्नै गाह्रो पारिदिने हुनसक्छ । 

यिनै समस्याबाट छुटकरा पाउन तपाईँले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि माइक्रोसफ्टको एआई को-पाइलट एउटा राम्रो विकल्प हुनसक्छ । को-पाइलट सन् २०२३ को फेब्रुअरीमा सार्वजनिक भएको थियो । 

यसमा च्याटजीपीटीमा जस्तै जीपीटी-४ को प्रयोग गरिएको छ । यसमा तपाईँले चाहेका जिज्ञासा राख्न सक्नुहुन्छ । यसमा तपाईँलाई थप स्पष्ट हुनका लागि आवश्यक लिङ्क पनि दिइएको हुन्छ । 

यो दैनिक रूपमा सामान्य किसिमका जानकारी पाउनका लागि नि:शुल्क प्रयोग गर्न सकिन्छ । तर तपाईँ को-पाइलट प्रो प्रयोग गर्न चाहनुहुन्छ भने मासिक २० डलर तिर्नुपर्ने हुन्छ । 

चाहे जस्तो जवाफ पाउन कसरी गर्ने प्रयोग गर्ने एआई ?

सबैभन्दा पहिला तपाईँको दिमागमा दैनिक रूपमा कति प्रश्न आउँछन्, त्यसको बारेमा सोच्नुहोस् त । ती प्रश्नहरू मौसम, भूगोल, ऐतिहासिक घटना, व्यक्ति, चलचित्र, खाने कुरा, स्वास्थ्य, जीवनशैली आदिका बारेमा हुन सक्छन् । 

तपाईँ जति प्रस्ट रूपमा प्रश्न गर्न सक्नुहुन्छ, एआई टुलहरूबाट त्यति नै स्पष्ट जवाफ पाउन सक्नुहुन्छ । तर, तपाईँ एआईले दिएका जवाफहरू केही गलत छन् वा बायस छन् कि भन्ने कुरामा चनाखो पनि हुनुपर्छ । यदि तपाईँ एआईले दिएका जानकारीमा विश्वास गर्दै हुनुहुन्छ भने यसले दिएका सूचनाका स्रोतहरू भरपर्दा छन् कि छैनन् भनेर पनि जाँच गर्ने गर्नुहोस् । 

एआईसँग प्रश्न सोधेर चाहिएको जानकारी निकाल्नु एउटा सीप नै हो । तर को-पाइलट प्रयोग गर्दा भने प्रश्न गर्न सहज भइरहेको महसुस हुन्छ । केही प्रश्नहरूको जवाफ सरल रूपमा तपाईँले पाउन सक्नुहुन्छ भने केही जवाफमा भने थप जानकारीका लागि केही थप प्रश्न सोध्न आवश्यक हुन सक्छ । 

उदाहरणका लागि हलिउड अभिनेता लिओनार्दो दि कार्पिओका फिल्महरूको बारेमा सोध्नुभन्दा लिओनार्दोको तपाईँलाई मन परेको फिल्मको नाम उल्लेख गरेर त्यस्तै अन्य फिल्मका बारेमा सोध्दा पाउने जवाफमा धेरै फरक पर्न जान्छ । 

को-पाइलटले लिओनार्दोको उत्कृष्ट फिल्मको सूची दियो, तर तपाईँलाई उनका सन् २००० सम्मका पूरै फिल्मको सूची चाहियो भने यसबारे स्पष्ट रूपमा सोध्न सक्नुहुन्छ । 

माथि फोटोमा देख्न सक्नुहुन्छ । यसले लिओनार्दोका उत्कृष्ट फिल्मलाई बोल्ड गर्दै सबै फिल्मको सूची उपलब्ध गराएको छ । यसबाट तपाईँ कुनै एक फिल्मको बारेमा थप जानकारी सोध्न सक्नुहुन्छ । त्यस फिल्मको रिभ्यु सोध्न सक्नुहुन्छ, केही अवार्ड पाएको छ कि छैन भनेर प्रश्न पनि गर्न सक्नुहुन्छ । 

त्यस फिल्मको कथासँग मिल्दोजुल्दा अन्य कस्ता फिल्म छन् भनेर पनि अनुरोध गर्न सक्नुहुन्छ । 

तपाईँले सोधेका प्रश्नहरूको आधारमा को-पाइलटले सम्भावित प्रश्नहरू पनि तयार पारी दिन्छ । यसमा कहाँबाट जानकारी लिएको भनेर स्रोत खुलाइदिने भएकाले तपाई‌ँले पाएको जानकारी भेरिफाई गर्न पनि सक्नुहुन्छ । 

डाक्टरको रूपमा पनि एआई ?

हामी स्वास्थ्यसम्बन्धी केही जानकारी आवश्यक परेमा गुगलमा स्वास्थ्य सम्बन्धी प्रश्न सोधिरहेका हुन्छौँ । तर गुगलले साना साना लक्षणहरूमा पनि ठुला रोगहरू हुनसक्ने जवाफ दिन्छ । 

तर एआईलाई पछिल्लो समय इन्टरनेटमा भएका जानकारी थाहा पाउने गरी तालिम दिइएको हुन्छ । जस कारण यसले तपाईँलाई गुगलको तुलनामा केही हदसम्म सामान्य स्वास्थ्यसँग सम्बन्धित जानकारी सही र सटीक रूपमा दिन सक्छ । तर, व्यक्तिगत स्वास्थ्यको विषयमा डाक्टरसँग नै परामर्श लिनु उत्तम विकल्प हो ।  

उदाहरणका लागि तपाईँलाई पाचन प्रक्रियामा समस्या भइरहेको छ भने कस्ता खाने कुराहरू बार्ने भनेर को-पाइलटलाई सोध्न सक्नुहुन्छ । तपाईँले दैनिक रूपमा खानाबाट पाउने क्यालोरीको हिसाबकिताब पनि यसबाट गर्न सक्नु हुन्छ । 

कुनै स्वास्थ्य सम्बन्धी विषयमा भएका रिसर्चहरू पनि तपाईँले माग्न सक्नुहुन्छ । तर एआईले दिएका जानकारीलाई पेसागत चिकित्सकले दिने परामर्शको सट्टामा भने प्रयोग गर्नु हुँदैन । यस्ता जानकारी डाक्टरसँग सल्लाहमा भने अपनाउन सक्नुहुन्छ । 

एआई टुलहरू तपाईँले चाहेको जानकारी छिटोभन्दा छिटो खोज्ने माध्यम हुन् । तर तपाईँले एआईलाई सोध्ने पहिलो प्रश्नमा नै सबै जानकारी नपाइन सक्छ । स्पष्ट जानकारीका लागि तपाईँले थप प्रश्न गर्नुपर्ने हुन्छ । तर हरेक व्यक्तिको उपचार विधि फरक पर्न सक्छ । त्यसैले स्वास्थ्य सम्बन्धी सल्लाह र उपचारका लागि भने डाक्टरकै परामर्श आवश्यक पर्छ । 

(अमेरिकी सञ्चारमाध्यम सिनेटमा अमन्डा स्मिथले लेखेको लेखको नेपाली अनुवाद)

 

पछिल्लो अध्यावधिक: माघ ९, २०८१ १९:४०