काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाकी पूर्व प्रमुख अपरेटिङ अफिसर (सीओओ) सेरिल स्यान्डबर्ग कानुनी र व्यावसायिक कठिनाइहरूको बढ्दो शृङ्खलामा फसेकी छिन् । उनले क्याम्ब्रिज एनालिटिका काण्डसँग सम्बन्धित मुद्दामा महत्त्वपूर्ण ईमेलहरू मेटाएको आरोपको सामना गरिरहेकी छिन् ।
सन् २०२२ मा फेसबुक छाडेपछि स्यान्डबर्ग फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गसँग सार्वजनिक विवादमा परेकी थिइन् । त्यसपछि उनले कम्पनीको नीति व्यवस्थापनमा निभाएका भूमिकालाई लिएर आलोचना भइरहेको छ ।
हालसालैको रिपोर्ट अनुसार, जुकरबर्गले राष्ट्रपति डोनाल्ड ट्रम्पका अघिल्लो कार्यकालका वरिष्ठ सल्लाहकार स्टीफन मिलरसँगको बैठकमा स्यान्डबर्गले कम्पनीमा संस्कृतिसँग सम्बन्धित विवादास्पद नीति बनाउन भूमिका खेलेको भन्दै आलोचना गरेका थिए ।
उक्त आलोचना मेटाको आन्तरिक नेतृत्व र कर्पोरेट नीतिहरूमा आइरहेको समस्याहरूको प्रमाण भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जुकरबर्गले फेसबुककी पूर्व सीओओको आलोचना गरेका समाचार सार्वजनिक हुनुभन्दा केही दिनअघि स्यान्डबर्ग फेसबुकको डेटा प्राइभेसीसँग सम्बन्धित मेटाका शेयरधनीहरूले हालेको कानुनी मुद्दाको सामना गरिरहेको समाचार बाहिरिएको थियो ।
स्यान्डबर्ग विरुद्ध लगाइएको आरोप के हो ?
स्यान्डबर्ग र मेटाका पूर्व बोर्ड सदस्य जेफ जाइएन्ट्सविरुद्ध सन् २०२४ को अन्त्यतिर मेटाका अन्य शेयरधनीहरूले अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरूले सन् २०१८ को क्याम्ब्रिज एनालिटिका काण्डसँग सम्बन्धित छलफलका लागि व्यक्तिगत ईमेल प्रयोग गरेको आरोप लगाइएको छ ।
क्याम्ब्रिज एनालिटिका काण्ड फेसबुकले प्रयोगकर्ताहरूको गोपनीयता उल्लंघन गरेको, प्रयोगकर्ताको गोपनीयतासँग सम्बन्धित जिम्मेवारी पूरा नगरि कानुनको उल्लङ्घन गरेकोसँग सम्बन्धित छ । सोही मुद्दासँग सम्बन्धित विषय उनीहरूले व्यक्तिगत ईमेल खाता प्रयोग गरी छलफल गरेको आरोप लगाइएको हो । यस्तै अदालतले मुद्दासँग सम्बन्धित सबै महत्त्वपूर्ण दस्तावेज सुरक्षित राख्न आदेश दिएपनि उनीहरूले त्यस्ता ईमेल पनि मेटिएको आरोप लगाएका छन् ।
यस मुद्दामा स्यान्डबर्गको संलग्नता रहेको डेलावेयर अदालतले निष्कर्ष निकालेको छ । अदालतका अनुसार, उनले व्यक्तिगत जीमेल खाता प्रयोग गरेर मुद्दासँग सम्बन्धित विषयमा छलफल गरेकी थिइन् । स्यान्डबर्गले अदालतमा दिएका बयानहरू अस्वीकार गरिएको छ ।
ईमेल स्वतः मेटिएको नभइ, स्यान्डबर्गले नै जानाजान मेटाएको हुनसक्ने आशंका अदालतले व्यक्त गरेको छ । स्यान्डबर्गले आफ्नो बचाउका लागि आवश्यक प्रमाण अदालतमा पेश गर्नुपर्ने न्यायाधीशहरूले बताएका छन् । आरोपहरूको खण्डन गर्ने भएमा स्पष्ट र विश्वस्त पार्नसक्ने किसिमका प्रमाणहरू उनले पेस गर्नुपर्नेछ । तर, स्यान्डबर्गलाई आफूलाई निर्दोष प्रमाणित गर्ने चुनौती रहेको बताइएको छ । यस्तै मुद्दाका वादीहरूलाई कानुनी सहायतासमेत उपलब्ध गराएका कारण उनीमाथी थप चुनौती आइपरेका छन् ।
स्यान्डबर्गको खण्डन
यस मुद्दामा स्यान्डबर्गका प्रवक्ताले अदालतको निष्कर्षलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, "सबै कामका ईमेल फेसबुकका सर्भरमा सुरक्षित राखिएका थिए ।" उनको कानुनी टोलीले सबै आरोप आधारहीन रहेको दाबी गरेको छ । यदि कुनै ईमेल मेटिए ती अनजान रूपमा भएको हुनसक्ने वा मुद्दासँग असम्बन्धित भएको हुनसक्ने उनीहरूको दाबी छ ।
यस मुद्दाले स्यान्डबर्गको व्यक्तिगत मुद्दामात्र नभएर मेटा कम्पनीको डेटा गोपनीयता र पारदर्शितासँग सम्बन्धित समस्याहरूलाई पुनः एकपटक ध्यान केन्द्रित गराएको छ ।
क्याम्ब्रिज एनालिटिका काण्ड र यसको असर
स्यान्डबर्गसँग सम्बन्धित आरोपहरू क्याम्ब्रिज एनालिटिका काण्डसँग सम्बन्धित छन् । यो काण्ड आधुनिक कर्पोरेट इतिहासको सबैभन्दा महत्त्वपूर्ण डेटा गोपनीयता मुद्दाहरू मध्ये एक मानिन्छ । सन् २०१८ मा फेसबुकले राजनीतिक परामर्श फर्म 'क्याम्ब्रिज एनालिटिका'लाई लाखौं प्रयोगकर्ताहरूको सहमति बिना व्यक्तिगत डेटा उपलब्ध गराएको मुद्दा परेको थियो ।
यस मुद्दा बाहिरिएपछि सार्वजनिक रूपमा फेसबुकमाथि आक्रोश पोखिएको थियो । यसपछि फेडरल ट्रेड कमिसन (एफटीसी) ले फेसबुकमाथि अनुसन्धान गरेर सन् २०१९ मा पाँच अर्ब डलर जरिवाना तिराएको थियो । अदालतले आदेश दिँदै मेटा कम्पनीलाई स्पष्ट सहमति बिना प्रयोगकर्ताका डेटा सङ्कलन र साझेदारी गर्न निषेध गरेको थियो । पछि मेटाले युरोपेली अधिकारीहरूबाट पनि नियामकीय चुनौतीहरूको सामना गर्नुपरेको थियो ।