close

विपिन जोशी रिहाइ हुन लागेको भन्दै भाइरल सूचीको सत्यता के हो ?

टेकपाना टेकपाना

माघ १७, २०८१ १०:२५

विपिन जोशी रिहाइ हुन लागेको भन्दै भाइरल सूचीको सत्यता के हो ?

काठमाडौं । बुधबार साँझदेखि सामाजिक सञ्जालमा एउटा सूची भाइरल भइरहेकाे छ । सूचीमा गाजाबाट रिहाइ हुन बाँकी बन्धकको सूची समावेश छ । जसमा गत वर्ष इजरायलमा हमासले गरेको आक्रमणमा बन्धक बनेका नेपाली नागरिक विपिन जोशीको नाम पनि समावेश छ । 

उक्त सूची होस्टेस एन्ड मिसिङ फेमिली फोरमको वेबसाइटबाट लिइएको हो । सूचीमा रिहा हुन बाँकी कुल ९७ जना नागरिकको नाम समावेश छ । उक्त वेबसाइटले आफ्नो फोरम हमासले इजरायलमा आक्रमण गरेको २४ घण्टा नपुग्दै गठन भएको र बन्धक नागरिकलाई फिर्ता ल्याउन पहल गर्दै आएको बताएको छ । 

दक्षिणी इजरायलमा हमासको नेतृत्वमा ७ अक्टोबर २०२३ मा भएको आक्रमणमा इजरायलबाट १५० जना बन्धक बनाएर गाजा लगिएको थियो । सोमध्ये ८७ जना हालसम्म गाजाकै कब्जामा रहेको इजरायलको दाबी छ । 

यस्तै, सन् २०१४ मा हमासले बन्धक बनाएकामध्ये तीन इजरायली नागरिक गरी ९० जना अझैपनि उनीहरूकै कब्जामा रहेका छन् । तीमध्ये कम्तीमा ३५ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ । 

चार सैनिकसहित सात जना महिला २५ जनवरीमा रिहा भइसकेका छन् । हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त सूची ती सात महिला बन्धक रिहा हुनुअघिको हो ।

यता द टाइम्स अफ इजरायलले बुधबार प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकामध्ये एक नेपाली रहेको उल्लेख गरेको छ । नाम उल्लेख नगरिए पनि हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुन् । त्यसैले विपिन जीवितै छन् भन्ने आशा गरिएको छ ।

द टाइम्स अफ इजरायलका अनुसार हमासले बिहीबार तीन जना रिहा हुन लागेको भन्दै नाम सार्वजनिक गरेको छ । उक्त सूचीमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेस छन् । 

यसका साथै आज पाँच थाई बन्धक पनि रिहा हुन लागेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, “गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन् । तर दुई थाई र एक तान्जानियाली नागरिकलाई मृत घोषणा गरिसकिएको छ ।” 

यद्यपि हमासबाट रिहा हुन बाँकी बन्धकहरूमा विपिन जोशी जीवितै छन् भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन । तर नेपालका नाम चलेका केही मिडियासहित सामाजिक सञ्जाल प्रयोगकर्ताले रिहा हुने सूचीमा विपिन ५८औं नम्बरमा रहेको भन्दै भ्रम फैलाइरहेका छन् । 

इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ । योसँगै दुवै देशले एक अर्काको देशबाट बन्धक बनाएका नागरिकहरू रिहा गरिरहेका छन् । 

इजरायलले सम्झौताको पहिलो चरणमा महिला, महिला सैनिकहरू, त्यसपछि ५० वर्षमाथिका पुरुषहरू र बिरामी वा घाइते भएका युवा पुरुषहरू रिहा गर्न माग गरेकाे छ ।

यसअनुसार नै गाजाले बन्धकहरूलाई रिहा गरिरहेको छ । यस आधारमा पनि विपिन रिहा हुने नागरिकको सूचीमा अन्तिमतिर पर्नेछन् ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८१ १०:५५