काठमाडौं । पछिल्लो केही समयदेखि टिकटकमा नयाँ 'STEM फिड' देखिन थालेको छ । कतिपय नेपाली प्रयोगकर्ताका टिकटक अकाउन्टहरूमा STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) सम्बन्धी कन्टेन्टहरू देखाउन थालेका छन् ।
के हो STEM?
STEM भन्नाले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितलाई जनाउँछ । अङ्ग्रेजी शब्दहरू– साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्सका पहिलो अक्षरहरू मिलेर STEM बनेको हो । टिकटकले सन् २०२४ को अप्रिलमा पहिलोपटक सार्वजनिक गरेको यो फिड नेपालमा पनि देखिन थालेको छ ।
यो फिड खासगरी विज्ञान, प्रविधि र गणित विषयमा चासो राख्ने प्रयोगकर्ताहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ । सुरुवातमा युरोपेली देशहरूमा यो फिड सार्वजनिक गरिएको थियो । टिकटकका अनुसार, मासिक रूपमा एक अर्बभन्दा बढी प्रयोगकर्ताले आफ्नो रुचि अनुसार मनोरञ्जन र प्रस्तुतीकरणका लागि यो फिडमा पहुँच प्राप्त गरिरहेका छन् ।
पछिल्लो तीन वर्षमा स्टिम सम्बन्धी एक करोडभन्दा बढी कन्टेन्ट बनाइएको भएको टिकटकको दाबी छ । यस फिडमा २५ प्रतिशतभन्दा बढी किशोरकिशोरीहरूले साप्ताहिक रूपमा भिजिट गर्ने तथ्य पनि उल्लेख गरिएको छ । साथै, अङ्ग्रेजी भाषाका कन्टेन्टहरूमा अटो सबटाइटल सुविधा पनि उपलब्ध छ ।
अमेरिका, क्यानडा, बेलायत, आयरल्यान्ड र जर्मनी लगायतका देशहरूमा यो फिड सञ्चालनमा आएको हुँदा ती स्थानहरूमा शिक्षासम्बन्धी कन्टेन्ट निर्माणमा ३५ प्रतिशतसम्म वृद्धि भएको टिकटकले जानकारी दिएको छ ।