काठमाडौं। चिनियाँ प्रविधि कम्पनी ह्वावेले ट्राई (३ ठाउँमा) फोल्ड गर्न मिल्ने मोबाइल अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गर्ने भएको छ । ह्वावेको मेटा एक्सटी अल्टिमेट फोन अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्ने जानकारी दिएको हो ।
सामाजिक सञ्जाल एक्समार्फत् कम्पनीले यसको टिजर भिडिओ सार्वजनिक गर्दै मेटा एक्सटी अल्टिमेट फोन सन् २०२५ मा रिलिज हुने जानकारी गराएको हो । उक्त भिडिओमा १८ फेब्रुअरीमा क्वालालम्पुरमा मोबाइल सार्वजनिक गरिने बताइएको छ ।
यो मोबाइल चिनियाँ बजारमा भने गत वर्षको सेप्टेम्बरमा नै सार्वजनिक भएको थियो । अब भने यो मोबाइल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने भएको हो । उक्त स्मार्टफोनको मूल्य कति पर्छ भनेर टिजर भिडियोमा कुनै जानकारी दिइएको छैन ।
के छन् विशेषता ?
ह्वावे मेट एक्सटी अल्टिमेट डिजाइनको मुख्य आकर्षण यसको स्क्रिन हो । यो फोनलाई तीन पटक फोल्ड गरेर स्क्रिनको आकार परिवर्तन गर्न सकिन्छ । यसलाई अन्य सामान्य मोबाइल जसरी मात्र नभएर किताबको साइज जत्रो बनाएर पनि प्रयोग गर्न मिल्छ ।
यो फोनको स्क्रिनको साइज फोल्ड नगर्दा १०.२ इन्च (३,१८४x २,२३२ पिक्सेल), एक पटक फोल्ड गर्दा ७.९ इन्च ( २,०४८ x २,२३२ पिक्सेल), दुई पल्ट फोल्ड गर्दा ६.४ इन्च (१,००८ x २,२३२ पिक्सेल) को रहेका छन् । यो स्मार्टफोनमा एलटीपीओ ओएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । जसले स्क्रिनलाई गुणस्तरीय बनाउनुका साथै ब्याट्री खपतलाई पनि घटाउँछ।
यो फोनमा ट्रिपल क्यामेरा सेटअप छ । ५० एमपीको प्राइमरी क्यामेरा, १२ एमपीको अल्ट्रा-वाइड क्यामेरा, १२ एमपीको पेरिस्कोप टेलिफोटो क्यामेरा र सेल्फी र भिडिओ कलका लागि ८ एमपीको फ्रन्ट क्यामेरा उपलब्ध गराइएको छ ।
ह्वावेले यस फोनमा हार्मोनी ओएस ४.२ अपरेटिङ सिस्टम राखेको छ। यो फोनमा ह्वावेकै चिपसेट र हाई पर्फर्मेन्स फिचर राखिएका छन् ।
ह्वावे मेट एक्सटी अल्टिमेट डिजाइन तीन ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । चीनमा यसको १६ जीबी र्याम + २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १९,९९९ युआन (करिब ३ लाख ८३ हजार रुपैयाँ), १६ जीबी र्याम + ५१२ जीबी स्टोरेजको २१,९९९ युआन (करिब ४ लाख २१ हजार रुपैयाँ) र १६ जीबी र्याम + १ टीबी स्टोरेजको २३,९९९ युआन(करिब ४ लाख ६० हजार रुपैयाँ) रहेको छ ।
नेपालमा कहिले आउला ?
ह्वावे चीनको घरेलु बजारबाट अन्तर्राष्ट्रिय बजारमा आउने तयारी भए पनि नेपालमा आउने वा नआउने भन्ने विषय यकिन नभएको ह्वावे नेपालको मिडिया तथा ब्रान्ड मार्केटिङ म्यानेजर अलिशा श्रेष्ठले बताइन् । "यो फोन अन्तर्राष्ट्रिय बजारमा आउँदैछ । तर, अहिले नै नेपालमा ल्याउने बारे कुनै योजना बनिसकेको छैन," उनले भनिन् ।