काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडिओ भाइरल छ । जहाँ कक्षाकोठाभित्र रहेका केही विद्यार्थी मिलेर रकम जम्मा गरिरहेका हुन्छन् । विद्यार्थीहरू एकैठाउँमा जम्मा भएको देखेर शिक्षिकाले एक विद्यार्थीलाई ‘प्रणव, के गरेको ?’ भन्दै सोध्छिन् ।
प्रणव कक्षाका साथीहरूसँग मिलेर पिकनिक जानका लागि अर्का साथी प्रिन्सका लागि खर्च जम्मा गर्दै हुन्छन् । शिक्षकले प्रिन्सलाई पिकनिक लिएर जान आफूले पैसा दिन्छु भन्छिन् ।
तर प्रणवले आफूहरूले नै दिने भन्दै पैसा जम्मा गर्छन् । एक-आपसमा बटुलेर उनीहरूले ८०० रुपैयाँ जम्मा गर्छन् ।
त्यसपछि शिक्षिकाले प्रिन्सलाई हेर्दै, “तिमी धेरै भाग्यमानी रहेछौ” भन्छिन् । यसपछि प्रिन्स भावुक हुँदै साथीहरूले जम्मा गरेको पैसा पिकनिक जानका लागि शिक्षकलाई बुझाउँछन् ।
यो भिडिओ चितवनको भरतपुर महानगरपालिका स्थित स्मल हेभन स्कुलको कक्षा ३ मा अध्ययनरत बालबालिकाको हो । जसलाई शिक्षिका साङ्गे डोल्पो तामाङले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
फेब्रुअरी ४ मा अपलोड भएको भिडिओ हालसम्म २० लाखभन्दा बढी पटक हेरिएको छ । यसमा एक लाख ६८ हजारभन्दा बढी लाइक आएको छ ।
भिडिओमा विद्यार्थीहरूलाई राम्रो शिक्षा दिएको भन्दै कतिपयले शिक्षिकाको तारिफ गरेका छन् । बालबालिकालाई राम्रो संस्कार दिने बाबाआमाको पनि तारिफ गर्दै उनीहरूमा रहेको ‘कोमल हृदय’ रक्षा गर्नुपर्ने प्रतिक्रिया जनाएका छन् । कतिपयले भने भिडिओ हेरेर आफ्नै बाल्यकाल र बाल्यकालका साथीहरूलाई पनि सम्झिएका छन् ।
शिक्षिका साङ्गेले उक्त भिडिओ भाइरल भएपछि प्रिन्ससहित कक्षाका सबै बालबालिका पिकनिक गएको भिडिओ आफ्नो युट्युब च्यानलमा राखेकी छिन् । ती भिडिओमा आफूहरू भाइरल भएको भन्दै उनीहरू दंग परेका छन् ।
पिकनिकमा जाँदा प्रिन्सले आफ्नो फलफूल पसल पनि देखाउँछन् । शिक्षिकाले प्रणव र प्रिन्ससहित बालबालिकाले पिकनिकका क्रममा रमाइलो गर्दै नाचेको भिडिओ पनि राखेकी छिन् । जसलाई दुई लाख ४४ हजारभन्दा धेरै पटक हेरिएको छ ।
यस्तै पिकनिकपछि आफूलाई सहयोग गर्ने साथीहरूलाई प्रिन्सले आइसक्रिम खुवाएको भन्दै थप अर्को भिडिओ पनि इन्स्ट्राग्राममा शिक्षिका साङ्गेले शेयर गरेकी छिन् ।
६ दिन पहिले सार्वजनिक भएको उक्त भिडिओ यो समाचार तयार पार्दासम्म एक लाख ७० हजारभन्दा बढी पटक हेरिएको छ । प्रिन्सको आफ्नो परिवारको जुस पसल जाडोमा बन्द रहेको र अर्को हप्ताबाट खुल्ने सुनाउँछन् । प्रिन्सकी आमाले कक्षाका सबै साथीहरूका लागि पठाएको उखु उनीहरू खाइरहेको देख्न सकिन्छ । यो भिडिओ पनि धेरैले रुचाएका छन् ।