काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट ह्याकरको कब्जामा पुगेको छ । बिहीबार आफूलाई ‘क्याप्टेन स्मोकर३आर’ बताउने ह्याकर समूहले मन्त्रालयको वेबसाइट ह्याक गरेको हो ।
ह्याक गरेर उक्त वेबसाइटमा ‘Hacked by Captain Smoker3R’ भन्ने सूचना राखिएको थियो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित कर्माचारीको नामसमेत परिवर्तन गरिएको थियो । हाल भने मन्त्रालयको वेबसाइट डाउन अवस्थामा छ ।
ह्याकबाट मन्त्रालयको डेटामा कति हानि भयो भन्ने यकिन भइसकेको छैन । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वेबसाइट फिर्ता ल्याउन प्रयास भइरहेको जानकारी दिए ।
प्रवक्ता डा. बुढाथोकीले भने टेकपानासँग भने, “वेबसाइट ह्याक भएको थाहा पाएपछि हिजै (बिहीबार) मैले आईटी सेक्सनमा तत्काल ठीक गर्नका लागि निर्देशन दिएको थिएँ । सूचना प्रविधि मन्त्रालयबाट बनाउनुपर्ने भएकाले समय लागेको हो ।”
कुख्यात ह्याकर ग्रुप क्याप्टेन स्मोकर३आरले विशेषगरी सरकारी वेबसाइट र हाई-प्रोफाइल संस्थाहरूलाई लक्षित गरी साइबर आक्रमण गर्दै आएको पाइन्छ । यस ग्रुपले वेबसाइटहरू ह्याक गरी आफ्नो ग्रुपको नाम, फोटो र टेलिग्राम लिङ्क राख्ने गरेको छ । विभिन्न अनुसन्धानकर्ताका अनुसार यो बङ्गलादेशी ह्याकर समूह 'थन्डर साइबर टिम' अन्तर्गत रहेको विश्वास गरिन्छ ।
पछिल्लो समयमा नेपालका सरकारी वेबसाइटमाथि निरन्तर आक्रमण भइरहेको छ । केही दिनपहिले मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको थियो । यस्तै, कोशी प्रदेश सरकारको मुख्य डोमेनमा रहेका २१ भन्दा बढी सबडोमेन वेबसाइटहरू ह्याकरको कब्जामा रहेको पाइएको छ ।