काठमाडाैं । अब मालसामान ढुवानी सेवा सहज तरिकाबाट अनलाइन प्लेटफर्मबाट नै गर्न सकिने भएको छ । यसका लागि ‘टिम भरिया’ एप सञ्चालनमा आएको छ ।
एक महिना पहिले नै सार्वजनिक भएको यो एप बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल फुँयालले जानकारी दिए ।
“परम्परागत भौतिक ट्रान्सपोर्टको सट्टा डिजिटल माध्यमबाट सजिलो बनाउने लक्ष्यसहित एप विकास गरिएको हो । यो प्लेटफर्मले कार्गो, ट्रान्सपोर्टेसन कम्पनीहरू र ड्राइभरहरूलाई जोड्ने उद्देश्य राखेको छ,” उनले टेकपानासँग भने ।
‘टिम भरिया’ एपमार्फत ट्रान्सपोर्ट कम्पनी वा सप्लायर्सले पठाउनु पर्ने सामानको विवरण राख्नसक्छन् । ड्राइभरहरूले एपमा साइनअप गरेपछि फ्याक्ट्रीहरूले राखेको कार्गोहरू देख्न सक्छन् । भाडादर चित्त बुझेमा भनेको स्थानमा सामानै पुर्याइदिने फुँयालले बताए ।
यस्तै यस प्लेटफर्ममा व्यक्ति वा संस्थाले पनि सामान डेलिभरीको सुविधा लिन सक्छन् । “केही व्यक्तिले एकैपटक धेरै फर्निचर ल्याउनुपर्ने हुन्छ । कुनै कम्पनीलाई पनि सामान चाहेको हुन सक्छ ।” यसकारण ‘टिम भरिया’ एप मार्फत व्यक्ति र कम्पनी दुवैले आफूलाई चाहिएको सामान ढुवानी गर्न सक्छन्,” फुँयालले भने ।
यसरी सामान ढुवानी गर्न प्रस्ताव गर्दा सुरुमा सप्लायरले भाडादर प्रस्ताव गर्छन् । भाडा चित्त बुझेमा ड्राइभरहरूले प्रस्ताव स्वीकारेर सामान लोड गर्न सक्छन् । यदि प्रस्तावित भाडा चित्त नबुझेमा ड्राइभरहरूलाई एक पटक भाडा बढाउने अनुमति हुन्छ । ग्राहकलाई प्रस्ताव मन परेमा स्वीकार्न सक्छन् । यदि उनीहरूलाई भाडा चित्त बुझेन भने अन्य गाडी खोज्न पनि सक्छन् ।
यस प्लेटफर्ममार्फत छोटो तथा लामो दुरीमा पनि ढुवानी गर्न सकिन्छ । काठमाडौंभित्र इन्टरसिटी र लामो दुरीका लागि फरक-फरक शुल्क पर्ने फुँयालले बताए । उनले भने, “इन्टरसिटीको ढुवानी भए ३ किलोमिटरभित्रका गाडीहरूलाई सूचना जान्छ भने लङ रुटका लागि यो दूरी बढाइन्छ ।”
यो प्लेटफर्मले ढुवानीका लागि आवश्यक पर्ने श्रमिक व्यवस्थापन भने गर्दैन । लोडिङ तथा अनलोडिङको जिम्मेवारी कार्गो दिने फ्याक्ट्री वा सप्लायरकै हुन्छ । यदि आवश्यक परे ड्राइभरहरूले पनि यसको व्यवस्थापन गर्न सक्छन् ।
प्रयोगकर्ताले यो एप यहाँबाट डाउनलोड गरी साइनअप गर्न सक्छन् । एपमा तीन प्रकारका साइनअप विकल्प छन् । जसअन्तर्गत आई एम ड्राइभर, आई एम कार्गो र आई एम ट्रान्सपोर्टर रहेको छ । तोकिएका कागजात र विवरण भरेपछि उनीहरूलाई ट्रान्सपोर्ट सेवाका लागि गाडी खोज्ने सुविधा र उपयुक्त ट्रान्सपोर्ट कम्पनीहरूसँग प्रत्यक्ष सम्पर्क र भाडामा नेगोसिएसनको अवसर मिल्छ ।