काठमाडौं । सर्वोच्च अदालतको नाममा रहेको नक्कली भेरिफाइड एक्स (पहिला ट्वीटर) अकाउन्ट गायब भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाममा खोलिएको उक्त अकाउन्टलाई एक्सले सरकारी भेरिफाइड मार्क दिएको थियो । तर, उक्त अकाउन्ट मङ्गलबार एकाएक गायब भएको हो ।
सरकारी भेरिफाइड चेकमार्क पाएको उक्त अकाउन्ट १३ फेब्रुअरीमा खोलिएको थियो । भेरिफाइड भएको उक्त अकाउन्टबाट नेपालमा अवैध क्रिप्टोकरेन्सीको प्रचार भइरहेको थियो । त्यस लगत्तै प्रधानन्यायाधीशको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नक्कली अकाउन्ट खुलेको भन्दै आपत्ति जनाएको थियो ।
नक्कली अकाउन्टको चर्चा हुन थालेपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको थियो । “हामीले एक्स कर्पोरेसनलाई सम्पर्क गरेका थियौं । आज कम्पनीले ब्युरोलाई अकाउन्ट सस्पेन्ड गरेको जानकारी दिएको छ,” साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले टेकपानासँग भने, “थप विवरण आउन बाँकी नै छ । प्रक्रिया लाग्छ ।”