close

आजै रिलिज भएको नेपाली चलचित्र ‘लाज शरणम्’ का भिडिओ क्लिप टिकटकमा छ्यापछ्याप्ती

टेकपाना टेकपाना

फागुन १४, २०८१ १९:२२

आजै रिलिज भएको नेपाली चलचित्र ‘लाज शरणम्’ का भिडिओ क्लिप टिकटकमा छ्यापछ्याप्ती

काठमाडौं । प्रदर्शनमा आएकै दिन नेपाली चलचित्र ‘लाज शरणम्’ का ससाना क्लिपहरू टिकटकमा अपलोड हुन थालेका छन् । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आएको चलचित्रको क्लाइमेक्स नै दर्शाउने किसिमका भिडिओहरू टिकटकमा राखिएका हुन् । 

टिकटक प्रयोगकर्ताहरूले लाज शरणममा अभिनय गरेका कलाकारहरूको इन्ट्री, कथावस्तुहरू झल्किने क्लिपहरू राखेका छन् । टिकटकमा राखिएका क्लिपहरू हेर्दा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएर बाकसमा फर्काउँदा उक्त बाकस साटिएपछि आउने उतारचढाव चलचित्रको कथावस्तु रहेको जस्तो देखिन्छ । 

पछिल्लो समयमा विशेषगरी टिकटक, इन्स्टाग्राम तथा फेसबुक रिल्सजस्ता प्लेटफर्महरूमा चलचित्रका क्लाइमेक्ससम्मका भिडिओ पोस्ट हुने समस्या नेपाली चलचित्र निर्माताहरूले बारम्बार भोग्दै आएका छन् । 

यसले चलचित्र उद्योगमा आर्थिक घाटा समेत निम्त्याएको भन्दै यस्ता कदम रोक्नुपर्ने आवाज समय समयमा चलचित्रकर्मी तथा सरोकारवालाहरूले उठाइरहेका हुन्छन् । 

‘लाज शरणम्’ का कलाकार सागर लम्साल ‘बले’ ले चलचित्रका दृश्यहरू बिना अनुमति सामाजिक सञ्जालमा पोस्ट गर्नु गैरकानुनी र अनैतिक भएको बताएका छन् । टेकपानासँग कुरा गर्दै उनले यस्ता गतिविधिले निर्मातालाई ठूलो असर पार्ने भन्दै टिमले यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिए ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८१ १९:२९