close

सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक इन्च पनि कम हुँदैन, तर अराजकता स्वीकार्य छैन: ओली

टेकपाना टेकपाना

फागुन १५, २०८१ १४:३६

सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक इन्च पनि कम हुँदैन, तर अराजकता स्वीकार्य छैन: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक सेन्टिमिटर पनि कम नहुने गरी रक्षा गरिएको दाबी गरेका छन् । बिहीबार राजधानीमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले अधिकारको दुरुपयोग गर्दै घृणा फैलाउने कार्य स्वीकार्य नहुने बताए ।

“..तर अधिकार रक्षा गर्‍यो भन्दैमा छाडातन्त्र, अराजकता फैलाउने, समाजलाई विकृत बनाउने, संस्कृति, परम्परा र गौरवलाई होच्याउने किसिमका क्रियाकलाप गर्न पाइँदैन,” उनले भने । घृणाको राजनीति फैलाउने र अरूलाई हानी नोक्सानी पुर्याउने काम नियन्त्रण गरिने उनले उल्लेख गरे ।

“यस्तो कुरा रोक्नुपर्छ भने डिबेट गर्ने नै होइन, त्यो विरोधका लागि विरोध मात्र हो,” उनले भने ।

उनले अगाडि भने, “डिजिटल युगमा डिजिटल प्रविधिको प्रयोग गरेर वा नगरेपनि अपराध हुने गरेको पाइन्छ । तर सबै किसिमका अनुसन्धानका लागि डिजिटल प्रविधि उपलब्ध छ ।”

मानवीय सुखका लागि विज्ञान र प्रविधिको प्रयोग भएको, तर यसको प्रयोग नकारात्मक कामका लागि पनि भइरहेकोमा प्रधानमन्त्री ओलीले असन्तोष व्यक्त गरे । “साइन्स, आईटी र डिजिटल प्रविधिले मानिसलाई सुख, सुविधा र सहजता दिनुपर्ने हो । यो खुसीको कुरा थियो । हामी यस्तै होस् भन्ने चाहन्छौँ । तर यसको दुरुपयोग गरेर मानिसले अनुचित लाभ लिने र अपराध कर्म गर्ने पनि गरेका छन्,” उनले भने ।

डिजिटल अपराधका लागि सीमाक्षेत्र बाधा नहुने भएकाले यसलाई रोक्न कुनै एक्लो देशको प्रयासले सफल नभइने ओलीले उल्लेख गरे । अन्तर्राष्ट्रिय जानकारी, सूचना र सहायता आदानप्रदान गरेर सहयोग गर्दै विश्वभरको अपराध रोक्नुपर्नेमा उनले जोड दिए ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८१ १४:४९