close

जिग्रीको अनुरोधः ‘लाज शरणम्’का भिडिओ क्लिप सामाजिक सञ्जालमा नराखि दिनु

टेकपाना टेकपाना

फागुन १८, २०८१ १४:४१

जिग्रीको अनुरोधः ‘लाज शरणम्’का भिडिओ क्लिप सामाजिक सञ्जालमा नराखि दिनु

काठमाडौं । कलाकार तथा निर्देशक कुमार कट्टेल (जिग्री) आफ्नो चलचित्रका भिडिओ क्लिपहरू सामाजिक सञ्जालमा नराखिदिन आग्रह गरेका छन् । सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ का क्लिपहरू सामाजिक सञ्जालमा राख्ने क्रम नरोकिएपछि उनले यस्तो अनुरोध गरेका हुन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले ‘बौद्धिक सम्पत्तिको सुरक्षा’ र ‘सिर्जनामाथि सर्जकको प्रतिलिपि अधिकार’ लाई लिएर चिन्तित भएको बताए । जिग्रीले भनेका छन्, “चलचित्र सार्वजनिक भएसँगै सर्जकको सिर्जना अनधिकृत रूपमा बाहिरिएसँगै ‘बौद्धिक सम्पत्तिको जगेर्ना’ र ‘सुरक्षा’ प्रति चिन्तित भएका छौँ । चलचित्रका दृश्य तथा संवादहरू सामाजिक सञ्जालहरूमा छाउनु लगानीकर्ता, सर्जक र कलाकार कसैका लागि सुखद पक्ष होइन । सिनेमा हेर्दा हलमा दृश्य तथा संवादको भिडिओ खिच्नु गैरकानुनी कार्य हो । जानेर वा नजानेर कसैबाट यस प्रकारको कार्य नहोस् भन्ने हाम्रो अभिलाषा हो ।"

फागुन १४ मा रिलिज यो चलचित्रका भिडिओ क्लिपहरू सोही दिनदेखि नै टिकटक लगायतका सामाजिक सञ्जालमा लामो तथा छोटो भिडिओको रूपमा सार्वजनिक भइरहेका छन् । क्लिपहरू चलचित्रको क्लाइमेक्स नै खुलाउने गरी समेत राखिएका छन् ।

पछिल्लो समयमा विशेषगरी टिकटक, इन्स्टाग्राम तथा फेसबुक रिल्सजस्ता प्लेटफर्महरूमा चलचित्रका क्लाइमेक्ससम्मका भिडिओ पोस्ट हुने समस्या नेपाली चलचित्र निर्माताहरूले बारम्बार भोग्दै आएका छन् । यसले चलचित्र उद्योगमा आर्थिक नोक्सानी समेत निम्त्याएको भन्दै यस्ता कदम रोक्नुपर्ने आवाज समय समयमा चलचित्रकर्मी तथा सरोकारवालाहरूले उठाइरहेका हुन्छन् । कतिपय अवस्थामा चलचित्र निर्माताले साइबर ब्युरोको सहयोग समेत लिने गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: फागुन १८, २०८१ १४:४६