close

अनर फोनमा ७ वर्षसम्म ओएस र सेक्युरिटी अपडेट

टेकपाना टेकपाना

फागुन १९, २०८१ १२:५९

अनर फोनमा ७ वर्षसम्म ओएस र सेक्युरिटी अपडेट

काठमाडौं । चिनियाँ ब्राण्ड अनरले आफ्नो फ्ल्यागशिप म्याजिक सिरिजका फोनमा सात वर्षसम्म एन्ड्रोइड अपरेटिङ सिस्टम तथा सुरक्षा अपडेट प्रदान गर्ने घोषणा गरेको छ । पहिलो चरणमा कम्पनीले म्याजिक सेभेन प्रोबाट यो सुविधा दिन लागेको हो ।

बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस सुरु हुनुअघि कम्पनीले यस्तो योजना घोषणा गरेको हो । यसअघि कम्पनीले अधिकतम पाँच वर्षसम्म ओएस तथा सुरक्षा अपडेट उपलब्ध गराउँदै आएको थियो ।  अनरको यस घोषणाले सामसङ र गुगललाई धक्का दिने विश्लेषण गरिएको छ । यी कम्पनीले अधिकतम आठ वर्षसम्म सफ्टवेयर अपडेटको सुविधा दिँदै आएका छन् ।

अनरका सीईओ जेम्स लीले उपभोक्तामैत्री भविष्यका उत्पादनहरू विकास गर्ने रणनीति अनुरूप युरेपेली बजारबाट यो योजना कार्यान्वयनमा ल्याउने बताएका छन् । “हामीले अनर म्याजिक सिरिजका फ्ल्यागशिप तथा फोल्डेबल स्मार्टफोनहरूमा सात वर्षसम्मको एन्ड्रोइड ओएस तथा सुरक्षा अपडेट उपलब्ध गराउने निर्णय गरेका छौं । यो योजनाले प्रयोगकर्ताहरूलाई दीर्घकालीन नवीनतम प्रविधि तथा उच्च सुरक्षा उपलब्ध गराउनेछ,” उनले भने ।

यस योजनाले महँगो पैसामा खरिद गरेका डिभाइसहरूको आयु लम्ब्याउने, विद्युतीय फोहोर (ई-वेस्ट) न्यूनीकरण गर्ने तथा नवीनतम एआई प्रविधि प्रदान गर्ने उनको भनाइ छ ।

अनरले पछिल्लो समय आफूलाई स्मार्टफोन निर्मातामात्र नभई विश्वस्तरीय एआई डिभाइस इकोसिस्टम कम्पनीमा रूपान्तरण गर्न विभिन्न योजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८१ १३:२०