close

आपत्‌मा तपाईँको जीवन नै बचाउन सक्ने एसओएस फिचर, फोनमा यसरी सेट गर्नुहोस्

टेकपाना टेकपाना

फागुन २४, २०८१ १९:१४

आपत्‌मा तपाईँको जीवन नै बचाउन सक्ने एसओएस फिचर, फोनमा यसरी सेट गर्नुहोस्

 

काठमाडौं । मानिसलाई आपतकालीन अवस्था वा विपद् कहिले आइपर्छ, पत्तो हुँदैन । यस्ता अप्रत्याशित घटनाबाट जोगिन पूर्व तयारी र सजगता अपनाउनु आवश्यक छ । अन्यथा जनधनको क्षति हुन सक्छ । त्यसैमा स्मार्टफोन बहुउपयोगी साधन बन्न सक्छ ।

आजकल प्रायः सबैको हातमा स्मार्टफोन छ । यो उपकरण मनोरञ्जन र सञ्चारको माध्यम मात्र नभएर आपत्‌कालमा जीवन रक्षा गर्ने सारथी पनि बन्न सक्छ । सही तरिकाले प्रयोग गर्ने हो भने स्मार्टफोनले ठुलो क्षति हुनबाट जोगाउन मद्दत गर्छ । त्यसका लागि स्मार्टफोनमा एसओएस सेफ्टी (SOS Saftey) भन्ने फिचर हुन्छ । उक्त फिचर सजिलै प्रयोग गर्न सकिने किसिमको हुन्छ । तर, तपाईंले त्यसलाई सेट गर्नुपर्ने हुन्छ । 

एन्ड्रोइडमा कसरी प्रयोग गर्ने एसओएस सेफ्टी फिचर ?

  • सबैभन्दा पहिले फोनमा सेटिङ एप खोल्नुहोस् । 

  • त्यसपछि सेफ्टी एन्ड इमर्जेन्सी (Safety and emergency) को अप्सन ट्याप गर्नुहोस् ।

 

  • अनि इमर्जेन्सी एसओएस (Emergency SOS) भन्ने अप्सन छानेर त्यसलाई अन गर्नुहोस् । 

  • यति गरेपछि तपाईंले साइड बटन (लक बटन)मा पाँच पटन लगातार क्लिक गर्नुभयो इमर्जेन्सी नम्बरमा फोन जान्छ ।

कतिपय डिभाइसमा इमर्जेन्सी नम्बरको ठाउँमा आफूले राख्न चाहेको व्यक्तिको नम्बर राख्ने सुविधा हुन्छ । प्रायःमा भने डिफल्ट रूपमा १०० नम्बर इमर्जेन्सी नम्बरका रूपमा राखिएको हुन्छ ।

 

त्यस्तै सेफ्टी एन्ड इमर्जेन्सीको पेजमा मेडिकल इन्फो, इमर्जेन्सी कन्ट्याक्ट, इमर्जेन्सी शेयरिङ लगाततका सेक्सन हुन्छ । खासगरी सामसङ फोनमा (अन्य केही फोनमा) हुने मेडिकल इन्फोमा नाम, रगतको प्रकार, तौल, उचाइ, जन्ममिति र ठेगाना राख्न सकिन्छ ।

फोनको लक लाग्दा पनि यो जानकारी देखिने बनाउन सक्नुहुन्छ । यदि फोन लक हुँदा यो जानकारी देखिने बनाउनु भएको छ भने पावर बटन लामो समयसम्म ट्याप गर्दा मेडिकल इन्फोको अप्सन देखिन्छ । त्यसैमा तपाईंले अघि सेट गरेको जानकारी देखिन्छ ।

त्यस्तै सेफ्टी एन्ड इमर्जेन्सीमा रहेको ‘इमर्जेन्सी कन्ट्याक्ट्स’को अप्सनमा ट्याप गरेर आफूलाई आपतकालीन अवस्थामा काम लाग्ने नम्बर राख्न सक्नुहुन्छ । यी नम्बर मेडिकल इन्फोमा पनि देखिन्छन् । 

इमर्जेन्सी शेयरिङको अप्सनबाट तपाईंले तत्कालै इमर्जेन्सी कन्ट्याक्टमा भएका नम्बरलाई फोटो, अडिओ, लोकेसन पठाउन सक्नुहुन्छ । तर, अडिओ र फोटो पठाउनका लागि भने आरसीएस अप्सन अन गरेको हुनुपर्छ । एन्ड्रोइडमा आरसीएस मेसेजको सुविधा अन कसरी गर्ने भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

त्यहीँ सेफ्टी एन्ड इमर्जेन्सीको पेजमा ‘अर्थक्वेक अलर्ट’को अप्सन हुन्छ । यो अप्सन अन गर्दा भूकम्प आएको अवस्थामा एन्ड्रोइड फोनमा त्यसको अलर्ट आउँछ । यसले गर्दा तपाईं समयमै सुरक्षित स्थानमा जान सक्नुहुन्छ । 

आईफोनमा कसरी अन गर्ने  एसओएस सेफ्टी फिचर ?

  • सबैभन्दा पहिले आईफोनमा सेटिङ एप खोल्नुहोस् ।

  • त्यसपछि 'इमर्जेन्सी एसओएस' (Emergency SOS) मा ट्याप गर्नुहोस् ।

  • यति गरेपछि ‘कल विथ होल्ड एन्ड रिलिज’ (Call with Hold and Release), ‘कल विथ ५ बटन प्रेसेस’ (Call with 5 Button Presses) वा ‘कल क्वाइट्ली’ (Call Quietly) मध्ये कुनै एक अन गर्नुहोस् ।

आपतकालीन सम्पर्क विवरणहरू थप्न प्रयोगकर्ताले हेल्थ एपमा विवरणहरू अपडेट गर्नुपर्छ:

  • त्यसका लागि सबैभन्दा पहिले हेल्थ एप खोल्नुहोस् र आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि ‘मेडिकल आईडी’ (Medical ID) मा ट्याप गर्नुहोस् ।

  • अनि 'एडिट' (Edit) मा ट्याप गर्नुहोस् । त्यसपछि ‘इमर्जेन्सी कन्ट्याक्ट्स’ (Emergency Contacts) सम्म स्क्रोल गर्नुहोस् ।

  • यति गरेपछि आपतकालीन सम्पर्क थप्न ‘एड’ (Add) बटनमा ट्याप गर्नुहोस् ।

  • अनि आफूलाई उपयुक्त लाग्ने सम्पर्क छान्नुहोस्, त्यसपछि उनीहरूको नाता थप्नुहोस् । त्यसपछि सबै परिवर्तन सुरक्षित गर्न ‘डन’ (Done) मा ट्याप गर्नुहोस् ।

यति गरिसकेपछि एसओएस आपतकालीन सुविधा जुनसुकै बेला प्रयोग गर्न सकिन्छ ।

नेपालमा प्रयोगकर्ताले साइड बटनलाई छिटो तीन पटक थिच्नुपर्छ; त्यसपछि आईफोनले स्वचालित रूपमा आपतकालीन सेवामा कल गर्नेछ । यदि प्रयोगकर्ताले स्लाइडरलाई नतानीकन साइड बटन र भोल्युम बटन निरन्तर रूपमा थिचिराखे काउन्टडाउन सुरु हुनेछ र एउटा सतर्कताको आवाज आउनेछ । यदि प्रयोगकर्ताले काउन्टडाउनपछि बटन छोड्यो भने आईफोनले स्वचालित रूपमा आपतकालीन सेवामा कल गर्नेछ ।

र, आपतकालीन कल समाप्त भएपछि आईफोनले आपतकालीन सम्पर्कलाई टेक्स्ट मेसेजमार्फत सतर्क गराउनेछ । यदि प्रयोगकर्ताले यो विकल्प रद्द गर्न रोजेमा भने यो प्रक्रिया अगाडि बढ्दैन । आईफोनले हालको स्थान (उपलब्ध भएमा) पठाउँछ र प्रयोगकर्ताले एसओएस मोडमा प्रवेश गरेपछि केही समयको लागि आपतकालीन सम्पर्कले स्थान परिवर्तन हुँदा अपडेट प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०८१ १९:१४