close

ज्ञानेन्द्र शाहीको प्रतिवादमा विष्णु रिमाल, भन्छन्ः एउटै स्टाटस ५ चोटी एडिट गरेर भ्रम फैलाए*

टेकपाना टेकपाना

फागुन २६, २०८१ १३:५१

ज्ञानेन्द्र शाहीको प्रतिवादमा विष्णु रिमाल, भन्छन्ः एउटै स्टाटस ५ चोटी एडिट गरेर भ्रम फैलाए*

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमाल सामाजिक सञ्जालबाटै सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको प्रतिवादमा उत्रिएका छन् । सोमबार फेसबुकका एक पोस्ट राख्दै उनले 'नालायक', 'द्विविधामा भ्रमको खेती गर्ने', 'एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेको अयोग्य' जस्ता शब्दावली प्रयोग गर्दै शाहीको अभिव्यक्तिको खण्ड गरेका हुन् ।

राप्रपाका नेता शाहीले सोमबार बिहानै फेसबुकमा एक पोस्टमार्फत आइतबार पूर्व राजाको स्वागतमा योगी आदित्यनाथको फोटो रिमालले नै राख्न लगाएको आरोप लगाए । उनले भनेका छन्, "हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्य नाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ । नेपाली राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि।"

शाहीको यही फेसबुक पोस्टको प्रतिवादमा उत्रिएका प्रधानमन्त्रीका सल्लाहकार रिमालले तिखो प्रहार गरेका हुन् । "डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो," उनले लेखेका छन्, "यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्टाटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन । कसले कहाँ के गर्दैछ- समाचार त आएकै छ नि !"

*शीर्षक परिवर्तन गरिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन २६, २०८१ १४:१६