काठमाडौं । इन्टरनेट सेवासम्बन्धी ग्राहकको गुनासो समाधान गर्न सेवाप्रदायक कम्पनीहरूले टोल फ्री नम्बरको व्यवस्था गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि हालसम्म ८६ ओटा इन्टरनेट सेवा प्रदायकले यस्तो नम्बर सञ्चालनमा ल्याएका छन् ।
प्राधिकरणले अनुमतिपत्रको शर्तअनुसार प्रत्येक सेवाप्रदायकले टोल फ्री नम्बर राख्नुपर्ने व्यवस्था लागु गरेको हो । यसमार्फत ग्राहकले इन्टरनेट सेवासम्बन्धी गुनासो तथा समस्या सहज रूपमा जानकारी गराउन सक्ने बताइएको छ ।
साथै, सेवाप्रदायकले शुल्कसम्बन्धी जानकारी निःशुल्क उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ।
इन्टरनेट सेवाको गुणस्तर सुधार्न तथा ग्राहकका गुनासोलाई तोकिएको समयभित्र समाधान गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । तर, हालसम्म केही कम्पनीहरूले यो पक्षमा पर्याप्त ध्यान नदिएकाले उपभोक्ता समस्यामा परिरहेको गुनासो छ । यसै कारण टोल फ्री नम्बरको अनिवार्य व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।