close

नयाँ अध्ययनको निष्कर्षः स्मार्टफोन चलाउन कम गरेको ३ दिनमै मस्तिष्कमा सकारात्मक परिवर्तन आउने

टेकपाना टेकपाना

फागुन २७, २०८१ १३:४८

नयाँ अध्ययनको निष्कर्षः स्मार्टफोन चलाउन कम गरेको ३ दिनमै मस्तिष्कमा सकारात्मक परिवर्तन आउने

काठमाडौं । तीन दिनसम्म स्मार्टफोन प्रयोग गर्न कम गर्दा पनि मस्तिष्कका क्रियाकलापमा सकारात्मक असर देखा पर्न थाल्ने गरेको पाइएको छ । जर्मनीको हेइडेलबर्ग विश्वविद्यालय र कोलोङ्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिरिएको हो । 

यस अनुसन्धानका लागि उनीहरूले १८ देखि ३० वर्ष उमेर समूहका २५ जना सहभागीहरूमाथि सर्वेक्षण गरेका थिए । सहभागीहरूलाई अति आवश्यक कुराकानी गर्न वा काम परेको अवस्था बाहेक ७२ घण्टासम्म फोन प्रयोग नगर्न भनिएको थियो । 

सहभागीहरूलाई अति आवश्यक समयमा बाहेक मोबाइल चलाउन निषेध गर्नुभन्दा अघि र तीन दिनपछि गरि दुई पटक उनीहरूको एमआरआई स्क्यान गरिएको थियो । यस्तै उनीहरूको मनोवैज्ञानिक अवस्थाको पनि जाँच गरिएको थियो । 

उक्त अनुसन्धान सीमित काम बाहेक फोनको प्रयोग नगर्दा मस्तिष्कका क्रियाकलापमा आउने परिवर्तनसँग सम्बन्धित थियो । यसरी मोबाइलको प्रयोग कम गर्दा मस्तिष्कमा लतसँग सम्बन्धित क्रियाकलाप हुने न्युरोट्रान्समिटर सिस्टममा प्रभाव पारेको पाइएको छ। 

“हामीले स्मार्टफोन प्रयोगलाई सीमित गर्दा पर्ने प्रभावको अध्ययन गर्न दीर्घकालीन तरिका प्रयोग गरेका छौँ ।” अनुसन्धान पत्र सार्वजनिक गर्ने क्रममा एक अनुसन्धानकर्ताले भनेका छन्, “समय अनुसार मस्तिष्कको सक्रियता र लतसँग सम्बन्धित न्युरोट्रान्समिटर प्रणालीमा आउने परिवर्तन एक आपसमा सम्बन्धित भएको पाएका छौँ ।”

सहभागीहरूको मस्तिष्कको स्क्यानका क्रममा स्मार्टफोनमा विभिन्न किसिमका दृश्यहरू देखाइएको थियो । उनीहरूलाई स्मार्टफोनमा डुङ्गा तथा फूलहरू जस्ता तस्बीर देखाएको थियो ।

अध्ययनले स्मार्टफोन चलाउन छाडेको छोटो समयमा नै मस्तिष्कले काम गर्ने तरिकामा परिवर्तन ल्याउने देखाएको छ । साथै स्नायु प्रणालीको ढाँचामा डिजिटल डिभाइसले असर पार्ने पनि देखाएको छ ।

यस्तै अनुसन्धानकर्ताहरूले स्मार्टफोनको प्रयोग र सामाजिक अन्तरक्रियाबिच नजिकको सम्बन्ध हुने गरेको समेत पाइएको छ । तर यसको सम्बन्धलाई नजिकबाट छुट्याउन नसकिएको उनीहरूले बताएका छन् ।

“हाम्रो तथ्याङ्क अनुसन्धानकर्ताले यस प्रक्रियालाई पूर्ण रूपमा छुट्याउन नसके पनि तुलनात्मक रूपमा मजबुत सम्बन्ध रहेको देखाएको छ । तर भविष्यमा हुने अध्ययनहरूले यस क्षेत्रका बारेमा पूर्ण रूपमा पत्ता लगाउने लक्ष्य राख्नुपर्छ,” अनुसन्धानकर्ताहरूले भनेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८१ १४:२३