काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको १० वर्ष पुरानो कमेन्टको स्क्रिनसट सोमबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त स्क्रिनसटमा भट्टराईको आधिकारिक फेसबुक पेजबाटै १० वर्षअघि उनकै पोस्टमा अश्लील र गालीयुक्त कमेन्ट आएको देखिन्छ ।
यसरी स्क्रिनशट भाइरल भएपछि भट्टराईको सचिवालयले फेसबुक पेज ह्याक भएको जनाएको छ । “डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ‘Dr. Baburam Bhattarai’ ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्,” सचिवालयले पोस्ट राख्दै भनेको छ, “हाल उहाँको आईटी टिम उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ । यसै सन्दर्भमा डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ ।”
सन् २०१४ मा उक्त अकाउन्टबाट पोस्ट भएका सामग्रीमा आउने अधिकांश कमेन्ट डा. भट्टराईकै पेजबाट आएको देखिन्छ । कतिपय कमेन्टमा उनैलाई अश्लील गालीसमेत गरिएको छ भने कुनैमा अन्य नेताहरूलाई गाली तथा आलोचना गरिएको छ ।
अनौठो कुरा के भने १० वर्षअघि गरिएको पोस्टमा मात्रै उनकाे नामबाट कमेन्ट गरिएको देखिन्छ, तर अहिले उक्त पाेस्टमा कमेन्ट गर्दा वास्तविक प्रयोगकर्ताकै नाम आउँछ । यसरी पुराना पोस्टमा नकारात्मक कमेन्ट भट्टराईकै नामबाट देखिन थालेपछि सबै कमेन्ट डिलिट वा हाइड भएको देखिन्छ ।
यसका पछाडिको कारण फेसबुक बग हुन सक्ने साइबर सरक्षा विश्लेषकको अनुमान छ । यस्तो फेसबुक कमजोरी, जसले अन्य व्यक्तिले गरेका कमेन्ट पनि डा. भट्टराईकै नामबाट गरिएको जस्तो बनाइदियो ।
केही वर्षअघि सेलिब्रेटीको अकाउन्टबाट विभिन्न व्यक्तिको अकाउन्टमा कमेन्ट हुने अचम्मको बग फेसबुकमा देखिएको थियो । दुई वर्ष अघि पनि यसरी नै भट्टराईको अकाउन्टबाट उनकै पोस्टमा छाडा कमेन्ट आएको देखिएको थियो । पछि ती पोस्ट नै हटाइएका थिए ।
डा. भट्टराईको सन्दर्भमा बगका कारण अरूको कमेन्ट उनको अकाउन्टबाट भएको देखिएको हो कि भन्ने आशङ्का छ ।
अरू कसैले अकाउन्ट पहुँचमा लिएर १० वर्ष पुरानो पोस्टमा १० वर्ष अघि नै कमेन्ट भएको देखाउन सक्दैन । न पुरानो कमेन्ट एडिट गर्न सकिन्छ । त्यसमा पनि फेरि उनकै आधिकारिक पेजबाट उनैलाई गाली गरेको कमेन्ट देखिएका छन् । यसको वास्तविक कारण भने बाहिर आइसकेको छैन । तर, ह्याक भएर यस्तो कमेन्ट आएको भन्नेमा भने साइबर सुरक्षा विश्लेषक विश्वस्त छैनन् ।