काठमाडौं । सरकारले जनताको गुनासो तथा समस्या सुन्न सञ्चालनमा ल्याएको ‘हेलो सरकार’ वेबसाइटमा प्राविधिक समस्या देखिएको छ । बुधबारदेखि वेबसाइट अवरुद्ध हुँदा सेवा लिन खोज्ने प्रयोगकर्ताले असुविधा भोग्नु परेको छ ।
अहिले वेबसाइट खोल्दा "Site Can't Be Reached" भन्ने सन्देश देखापर्ने समस्या आएको छ । कुन कारणले समस्या आएको हो भन्नेबारे सरकारले आधिकारिक जानकारी दिएको छैन ।
सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) मा एक पोस्ट गर्दै हेलो सरकारले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जानकारी दिएको छ । पोस्टमा भनिएको छ, “हेलो सरकार पोर्टलमा केही प्राविधिक समस्या सुधार गर्ने कार्य भइरहेको हुनाले आज अपडेट गर्न नसकिएको जानकारी गराइन्छ ।”
नागरिकका गुनासो सम्बोधन गर्ने उद्देश्यसहित सरकारको यो हटलाइन सेवा कार्यालय समयबाहेक राति पनि उपलब्ध हुन थालेको एक वर्ष पूरा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित हेलो सरकार सूचना प्रविधिमा आधारित उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली हो ।
यस सेवामार्फत फेसबुक, एक्स (ट्वीटर), भाइबर, इमो, वेबसाइट, एसएमएस, फ्याक्स लगायतका माध्यमबाट गुनासो टिपाउन सकिन्छ ।
हेलो सरकारमार्फत प्राप्त उजुरीमध्ये सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित रहने गरेको छ । त्यसपछि क्रमशः राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, सडक विभाग, काठमाडौं महानगरपालिका लगायतसँग सम्बन्धित गुनासो आउने गरेका छन् ।
प्राप्त उजुरीमध्ये धेरैजसो हेलो सरकार कक्षबाटै फर्छ्यौट हुने गरे पनि सम्बन्धित निकायले गुनासो समाधान गर्ने अवस्था कमजोर रहेको सेवाग्राहीहरूको गुनासो छ ।