close

टेकपाना फ्याक्टचेकः प्रचण्डमाथि जुत्ता प्रहार भएको भन्दै पाँच वर्ष पुरानो भिडिओ भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

चैत १, २०८१ २२:४५

टेकपाना फ्याक्टचेकः प्रचण्डमाथि जुत्ता प्रहार भएको भन्दै पाँच वर्ष पुरानो भिडिओ भाइरल

काठमाडौं । शुक्रबार बेलुकादेखि सामाजिक सञ्जाल फेसबुकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको भन्दै एक भिडिओ भाइरल भइरहेको छ । भिडिओमा एपीवन एचडी टेलिभिजनको लोगो देख्न सकिन्छ । त्यसैलाई लिएर ‘प्रचण्डमाथि जुत्ता प्रहार भएको’ दाबी गरिएको छ । टेकपाना फ्याक्टचेकले भाइरल भएको उक्त भिडिओ पाँच वर्ष पुरानो भएको पत्ता लगाएको छ । 

दाबी

शुक्रबार, १ चैत २०८१ बेलुका करिब ६ बजेदेखि सामाजिक सञ्जालमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’​माथि जुत्ता प्रहार भएको दाबी सहितको भिडिओ भाइरल भइरहेका छन् । फेसबुकमा ‘खबरदारी न्युज’ नामको फेसबुक पेजले ‘एउटै कार्यक्रममा बसेका युवाले प्रचण्ड माथि जुता प्रहार गर्न खाेजेका थिए । सामुन्ने बसेका युवाले आफ्नै जुता खोलेर हान्न खाेजेकाे भिडिओमा देख्नु सकिन्छ’ लेखेको छ । उक्त पोस्टमा भिडिओको स्रोत भन्दै AP News (एपी न्युज) राखिएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क । 

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले पनि उक्त पोस्ट शेयर गरेका छन् । सो पोस्टमा यो समाचार तयार पार्दासम्म १९०० बढी रियाक्सन, २५ कमेन्ट १४६ शेयर र दुई लाख २५ हजारभन्दा बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क । सोही पोस्टको क्याप्सन कपी गरी फेसबुकमा सर्च पेस्ट गर्ने हो भने त्यही भिडिओ अपलोड गर्ने कैयौं पेज र फेसबुक प्रोफाइल भेटिन्छन् ।

साथै #Prachanda सर्च गर्दा पनि अहिले प्रचण्डमाथि जुत्ता प्रहार भएको भिडिओ देखिन्छ । ‘खबरदारी न्युज’ नामक फेसबुक पेजले शेयर गरेको भिडिओ डाउनलोड गरेर अपलोड गर्दै रञ्जित अधिकारी नामका फेसबुक प्रयोगकर्ताले त झन् राजाको विरोध गर्दा प्रचण्डमाथि जुत्ता प्रहार भएको दाबी गरेका छन् । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क

तथ्यजाँच

भीम उपाध्यायले ‘यो के रहेछ ?’ भन्दै फेसबुकमा भिडिओ शेयर गरेपछि हामीले त्यही भिडिओ फरक-फरक क्याप्सनसहित सामाजिक सञ्जालमा खोज्यौं । भिडिओमा एपीवन एचडीको लोगो भएकाले एपीवन एचडीको फेसबुक पेज, युट्युब च्यानल र एक्स ह्यान्डलमा उक्त भिडिओ खोज्यौं । तर, पछिल्ला केही दिनमा उक्त भिडिओ अपलोड नभएको देखियो । त्यसपछि हामीले गुगल सर्चमा ‘प्रचण्ड’ कीवर्ड सर्च गरी आज प्रचण्डका विषयमा आएका समाचार हेर्‍यौं । त्यस क्रममा पनि जुत्ता प्रहार भएको भन्ने कुनै समाचार देखिएनन् ।

त्यसपछि हामीले गुगलमा ‘प्रचण्डमाथि जुत्ता प्रहार’ कीवर्ड’ खोज्यौं । त्यस क्रममा बाह्रखरीले १८ फागुन २०७६ मा ‘नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, रतन तिरुवा पक्राउ’ शीर्षकको समाचार फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल लिङ्क । 

उक्त समाचारको बीचमा ‘प्रचण्डमाथि जुत्ता हान्नेलाई प्रहरीकै अगाडि लात्ती प्रहार ! (भिडियोसहित)’ शीर्षकको समाचार भेटियो । हेर्नुहोस् ओरिजिनल लिङ्क । बाह्रखरीले पाँच वर्षअघि अपलोड गरेको उक्त भिडिओ र भाइरल भइरहेको भिडिओ तुलना गर्‍यौं । त्यस क्रममा अगाडि ठुलो अक्षरमा ‘प्रथम स्मृति स्मृति सभा’ लेखेको ठुलो होर्डिङ बोर्ड दुवै भिडिओमा देखियो । त्यस्तै अगाडि बसेका प्रचण्ड, त्यहाँ भएका अन्य ब्यानरहरू मिलेको देखियो । 

मुख्य स्रोत एपीवन एचडीसम्म पुग्न हामीले युट्युबमा ‘प्रचण्ड जुत्ता प्रहार AP1 HD’ कीवर्ड खोज्यौं । त्यस क्रममा १५ सेकेन्डको भिडिओ भेटियो । हेर्नुहोस् भिडिओ । 

दाबी

प्रचण्डमाथि आज जुत्ता प्रहार/राजाको विरोध गरेको भन्दै प्रचण्डमाथि जुत्ता प्रहार ।

दाबीकर्ता

खबरदारी न्युज, रञ्जित अधिकारी लगायतका फेसबुक पेज र फेसबुक अकाउन्ट ।

तथ्य

प्रचण्डमाथि आज जुत्ता प्रहार भएको भन्दै भाइरल भइरहेको भिडिओ भ्रामक हो । आजभन्दा पाँच वर्षअघि १८ फागुन २०७६ मा भरतमोहन अधिकारीको पहिलो स्मृति दिवसमा भएको कार्यक्रमलाई प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधन लगत्तै प्रचण्डलाई जुम्लाका रतन तिरुवा नामका व्यक्तिले जुत्ता प्रहार गरेका थिए । तर, उक्त जुत्ता प्रचण्डलाई लागेको थिएन । 

निष्कर्ष

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि राजाको विरोध गरेको भन्दै जुत्ता प्रहार भएको भन्ने दाबी भ्रामक हो । पाँच वर्ष पुरानो एपीवन एचडी टेलिभिजनको भिडिओलाई सामाजिक सञ्जाल पेज र अकाउन्टहरूले गलत सन्दर्भमा प्रयोग गरी भ्रम फैलाएका हुन् ।

प्रतिक्रिया

तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नुहुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ ०:५०