काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रालि (केएफ) बिच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवर्धन गर्ने उद्देश्यले रणनीतिक साझेदारी सुरु भएको छ । सिबिफिन कार्यालय सुन्धारामा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सिबिफिनका महानिर्देशक कोइरालाले काठमाडौं फिनटेकसँगको सहकार्य नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै थप सुदृढ, सुरक्षित, प्रतिस्पर्धी एवं नवप्रवर्तनमुखी बनाउन कोसेढुङ्गो साबित हुने बताए । काठमाडौं फिनटेकका संस्थापक सुब्बाले नेपालको बैंकिङ क्षेत्रको गुणात्मक सुधार, विकास एवं विस्तारमा अवच्छिन्न क्रियाशील सिबिफिनसँगको यस साझेदारीमा संलग्न हुन पाएकोमा उत्साह व्यक्त गरे ।
"नेपाली बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्यहरू र बैंकिङ नेतृत्वकर्ताहरूलाई डिजिटल बैंकिङ, साइबर सुरक्षा र फिनटेक सम्बन्धी विश्व स्तरीय ज्ञान प्रदान गर्ने अवसर पाउनु हाम्रो लागि ठुलो उपलब्धि हो," उनले भने, "यो सहकार्यले डिजिटल बैंकिङ, प्रविधि–सञ्चालित नवप्रवर्तन र समग्र वित्तीय सेवाहरूको स्तरोन्नतिमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”
सहकार्य अन्तर्गत नवीनतम प्रविधि, नीति, अभ्यास, नियमन, सुशासन, अनुपालना, रणनीतिक वित्तीय व्यवस्थापन, बैंकिङ क्षेत्रमा डिजिटल प्रविधि एवं फिनटेक अपनाउने प्रक्रिया र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै उच्चस्तरीय सम्मेलन आयोजना गर्ने, रणनीतिक नेतृत्व विकास तथा निर्णय क्षमता अभिवृद्धिका विशेष तालिम सञ्चालन गर्ने र सामाजिक एवं आर्थिक रूपान्तरणका लागि बैंकिङ पहुँच एवं समावेशी वित्तीय साक्षरता प्रवर्धन समेत गरिनेछ । यस बाहेक नैतिक बैंकिङ अभ्यास, तथा सुशासन अभिवृद्धि गर्ने परियोजनाहरू सञ्चालन गर्ने कार्यमा सहकार्य गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
त्यसैगरी बैंकिङ क्षेत्रका जल्दोबल्दा चुनौती एवं अवसर, उद्यमशीलता एवं नवप्रवर्तनसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन समेत सार्वजनिक गरिने जनाइएको छ । सम्झौताअनुसार काठमाडौं फिनटेकले कार्यक्रम आयोजना, स्रोत व्यवस्थापन तथा प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ भने सिबिफिनले आफ्नो सञ्जाल तथा रणनीतिक मार्गदर्शनमार्फत परियोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख छ ।
डिजिटल रूपान्तरणमा यात्रारत नेपालको बैंकिङ क्षेत्रलाई अझ डिजिटल प्रविधिमैत्री, रणनीतिक रूपमा सशक्त, तथा सुशासनकेन्द्रित बनाइ अझ मजबुत बनाउन यस सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको छ ।