close

शृङ्खलाबद्ध ल्यापटप र मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको भन्दै काठमाडौँबाट ४ जना पक्राउ

टेकपाना टेकपाना

चैत ३, २०८१ २०:६

शृङ्खलाबद्ध ल्यापटप र मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको भन्दै काठमाडौँबाट ४ जना पक्राउ

काठमाडौँ । ल्यापटप र मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । फरक - फरक मिति र समयमा विभिन्न स्थानबाट ल्यापटप तथा मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका-०९ घर भई काठमाडौँ कीर्तिपुर-११ नगाउँ बस्ने  ३४ वर्षीय  भक्तबहादुर रोकाया समेत चार जना रहेका छन् । पक्राउ पर्ने अन्य व्यक्तिहरूमा कञ्चनपुरको शुक्लाफाँटा-११ भई कीर्तिपुर-११ बस्ने टेकबहादुर रावल (२७), नुवाकोटको बेलकोटगढी-०८ घर भई काठमाडौँ-१६ बोहराटार बस्ने अनिल नेपाल (२७) र गुल्मी, धुरकोट-०५ घर भई काठमाडौँ-१४ बल्खू बस्ने रञ्जित कुँवर (३८) रहेका छन् । 

उनीहरूलाई खोजतलास गर्ने क्रममा २८ फागुन २०८१ का दिन काठमाडौँका विभिन्न स्थानहरूबाट चोरी गरेको सामान सहित पक्राउ गरिएको उल्लेख छ । उनीहरूको साथबाट विभिन्न कम्पनीका ६ थान ल्यापटप र ५ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८१ २०:७