close

फ्यान क्लब अकाउन्टबाट चरित्रहत्या गर्ने व्यक्ति ‘बले’ आफैँ भएको टिकटकर प्रिज्मा खतिवडाको आरोप

टेकपाना टेकपाना

चैत ४, २०८१ १८:५१

फ्यान क्लब अकाउन्टबाट चरित्रहत्या गर्ने व्यक्ति ‘बले’ आफैँ भएको टिकटकर प्रिज्मा खतिवडाको आरोप

 

काठमाडौं । टिकटकर प्रिज्मा खतिवडाले सागर लम्साल ‘बले’ले आफ्नै नामको फ्यान क्लब चलाएर चरित्रहत्या गरेको आरोप लगाएकी छिन् । आइतबार सार्वजनिक भएको एक भिडिओ अन्तर्वार्तामा खतिवडाले सागर लम्सालले नै ‘सागर लम्साल फ्यान्स क्लब’ (@sagarlamsal_fansclub) प्रयोग गर्ने गरेको दाबी गरेकी हुन् ।

भिडिओ अन्तर्वार्तामा खतिवडाले भनेकी छिन्, “उहाँ (सागर लम्साल)को फ्यान पेज उहाँ आफैँले चलाउनु हुन्छ । यो कुरा हामीले धेरै ठाउँबाट पत्ता लगायौँ ।”

उनले अगाडि भनेकी छिन्, “जब ब्रेकअपको समाचार आयो, त्यसपछि हामीले हाम्रो अकाउन्टबाट उहाँसँग सहकार्य गर्दा खिचेका विभिन्न प्रोमोसनल भिडिओ हटायौँ । मैले उहाँलाई ‘तपाईँको अकाउन्टबाट पनि यो सबै डिलिट गरिदिनु’ भनेर रिक्वेस्ट गरेकी थिएँ । तर, उहाँले डिलिट गरिदिनु भएन ।” लम्सालले एक हप्तासम्म भिडिओ प्राइभेट गरे पनि त्यसपछि भने पब्लिशमा राखेको उनको आरोप छ ।

खतिवडाका अनुसार लम्सालको कुनै नयाँ गीत आए पुराना भिडिओ प्रयोग गरेर उक्त फ्यान क्लब टिकटक अकाउन्टमा पोस्ट गरिन्थ्यो । “त्यसको (फ्यान पेज) एक्सेस चाहिँ उहाँसँग नै छ भन्ने कुरा मैले थाहा पाइसकेको थिएँ,” उनले भनेकी छिन् । लम्साललाई बारम्बार फ्यान क्लब अकाउन्टबाट पुराना भिडिओ हटाउन अनुरोध गरे पनि फोटो भिडिओ डिलिट नभएको उनको गुनासो छ । 

“उहाँको बिहे भइसकेपछि पनि त्यही फ्यान क्लब अकाउन्टबाट मेरो फोटो फरक सन्दर्भ राखी प्रयोग गर्नु भयो,” उनले भनिन् । आफूहरू कहिल्यै प्रेम सम्बन्धमा नरहेको र कुनै एउटा अन्तर्वार्तामा भावुक हुँदा दर्शकले त्यही विषयलाई ब्रेकअपसँग जोडेको उनले सुनाइन् ।

त्यस्तै सोही अन्तर्वार्ताका क्रममा प्रिज्माले पुनः त्यही फ्यान क्लबको विषय उठाएकी छन् । उनी भन्छिन्, “फ्यान पेजबाट मेरो फोटो भिडिओ आएपछि मैले उहाँलाई रिक्वेस्ट गरे ‘तपाईँको आफ्नो अकाउन्टबाट पनि डिलिट गर्नु, फ्यान पेजबाट आएको पनि डिलिट गर्नु ।’” 

लम्सालको व्यक्तिगत टिकटक अकाउन्टमा कहिल्यै पनि नआएको भिडिओ उक्त फ्यान क्लब अकाउन्टमा आउने दाबी प्रिज्माले गरेकी छिन् । उनी भन्छिन्, “एक पटक मैले फ्यान पेजसँग कुरा गर्दा मैले सहकार्यका क्रममा उहाँसँग गरेका व्यक्तिगत कुरा उक्त फ्यान पेजबाट बोलियो । भनेपछि त्यस आधारमा पनि त्यो अकाउन्टको एक्सेस उहाँसँगै छ वा उहाँले चलाउनुहुन्छ भन्ने थाहा भइहाल्यो ।” 

उनले बारम्बार लम्साललाई व्यक्तिगत र फ्यान क्लब अकाउन्टबाट भिडिओ हटाउन अनुरोध गरेको सुनाइन् । “उहाँको फ्यान क्लब अकाउन्टबाट ह्याशट्याग कपल, कुन कपल राम्रो छ, जस्ता पोस्ट, क्याप्सन र फोटो आउन थाले । त्यही अकाउन्टबाट मलाई जोडेर एडिट गरी नयाँ नयाँ भिडिओ आउन थाले,” उनी भन्छिन्, “जोडी नै नभएको कुरामा जबरजस्ती फ्यान पेजबाट कपल-कपल भनेर लग्दा राम्रो भएन ।”

प्रहरीमा निवेदन दिएको भन्ने समाचार आएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता कमेन्टमार्फत आफूमाथि खनिएको खतिवडाको गुनासो छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पुरानो विषयलाई उठाएर बारम्बार चरित्रहत्या गरेको भन्दै उनले आपत्ति जनाइन् । छ महिनाअघि प्रहरीमा निवेदन दिएपछि फ्यान क्लब अकाउन्ट र व्यक्तिगत अकाउन्ट कतै पनि आफ्नो फोटो नराख्ने सर्तमा मिलापत्र भएको उनको भनाइ छ । तर, लम्सालले अप्रत्यक्ष रूपमा आफूलाई व्यङ्ग्य गरेपछि पुनः कानुनी उपचार खोज्न बाध्य भएको उनको भनाइ छ । 

तर, यता सागर लम्साल ‘बले’ भने फ्यान क्लब अकाउन्टमा आफ्नो कुनै आबद्धता नभएको दाबी गर्छन् । टेकपानासँग कुरा गर्दै सागरले भने, “फ्यान क्लब अकाउन्ट मैले चलाउँछु कि कसले चलाउँछ भन्ने सोझै साइबर ब्युरोमै सोधे थाहा भइहाल्छ । मैले चलाउने भइदिएको भए मैले चलाउँछु भनिहाल्थेँ ।”

साइबर ब्युरोमा उक्त अकाउन्टको विवरण निकाल्न लगाए कसले चलाउँछ प्रस्ट हुने उनले उल्लेख गरे । “मेरो आफ्नै अकाउन्ट छ । फ्यान क्लब अकाउन्ट चलाउने फुर्सद हुँदैन । साइबर ब्युरोमा गए त्यो अकाउन्ट कसले चलाउँछ, थाहा भइहाल्छ,” उनले भने । 

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले पीडितले उजुरी दिएको खण्डमा उक्त अकाउन्टमाथि अनुसन्धान हुने जानकारी दिए । “पीडितले उजुरी नदिएसम्म प्रहरीले हस्तक्षेप गर्न मिल्दैन । तर, समाज वा राष्ट्रलाई अहित छ भने प्रहरीलाई त्यस्तो अकाउन्टको अनुसन्धान गर्ने अधिकार छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “व्यक्तिगत रूपमा कसैको बदनाम गरेको छ वा चरित्रहत्या गरेको छ भने व्यक्तिले उजुरी दिएपछि हामी अनुसन्धान गर्छौँ ।”

पछिल्लो अध्यावधिक: चैत ४, २०८१ १८:५१