close

‘ब्रेकअप’ पछि पूर्व प्रेमिकाका गोप्य फोटो/भिडिओ आफन्तलाई पठाइदिने युवक पक्राउ

टेकपाना टेकपाना

चैत ६, २०८१ १७:४९

‘ब्रेकअप’ पछि पूर्व प्रेमिकाका गोप्य फोटो/भिडिओ आफन्तलाई पठाइदिने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली युवतीको चरित्रहत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ पर्नेमा बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मङ्गलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

ब्युरोका अनुसार पीडित युवती र रायको चिनजान कामको सिलसिलामा भएको थियो । त्यसपछि उनीहरू फेसबुकमा साथी बने । कुराकानी गर्दै जाँदा उनीहरूबिच प्रेम सम्बन्ध स्थापित भयो । त्यसपछि निरन्तर भेटघाट हुन थाल्यो ।

पीडित युवतीले ब्युरोलाई भने अनुसार भेटघाटका क्रममा राय युवतीको अन्तरङ्ग सम्बन्धका क्रियाकलापको गोप्य फोटो र भिडिओ खिच्थे । पछि उनीहरूबिचको सम्बन्ध बिग्रियो । 

त्यही आवेगमा रायले युवतीका आफन्त र साथीभाइलाई मेसेन्जरबाट उनका गोप्य फोटो र भिडिओ पठाइदिए । यसरी चरित्रहत्या गरी मानसिक तनाव दिएको भन्दै पीडित युवतीले ब्युरोमा उजुरी दिइन् । सोही उजुरीका आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गर्दै जाँदा रायको संलग्नता भेटिएको ब्युरोले पत्ता लगाएको छ । 

उनलाई नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८१ १७:५७