close

क्रेटा ईभी नेपालमा, सुरुवाती मूल्य ५१.९६ लाख, ग्राउन्ड क्लियरेन्स २०० एमएम, साथमा स्पेयर टायर

टेकपाना टेकपाना

चैत १२, २०८१ १०:३६

क्रेटा ईभी नेपालमा, सुरुवाती मूल्य ५१.९६ लाख, ग्राउन्ड क्लियरेन्स २०० एमएम, साथमा स्पेयर टायर

काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित क्रेटा ईभी अन्ततः नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले उक्त ईभी सोमबारदेखि नेपाली बजारमा ल्याएको हो ।

गाडीका सबैजसो फिचर यस अघि नै सार्वजनिक भइसकेको भए पनि मूल्य भने यकिन भइसकेको थिएन । तर औपचारिक रूपमा ईभी नेपाली बजारमा आएसँगै यसको मूल्य समेत सार्वजनिक भएको छ । जसअनुसार क्रेटा ईभीको मूल्य ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ ।

कम्पनीका अनुसार चार मोडेलमा उपलब्ध क्रेटा ईभीको सुरुवाती एक्जिक्युटिभ मोडेललाई ५१ लाख ९६ हजार रुपैयाँ पर्नेछ । त्यस्तै क्रेटा ईभी स्मार्टको मूल्य ५४ लाख ९६ हजार, क्रेटा ईभी स्मार्ट (ओ)को मूल्य ५६ लाख ९६ हजार र क्रेटा प्रिमियम प्लस ईभीको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

ब्याट्री तथा मोटर क्षमताका हिसाबले हाललाई यसको एउटा मात्र भेरियन्ट नेपाल आएको छ । हुन्डाईको क्रेटा ईभी ५१.४ किलोवाट आवर र ४२ किलोवाट आवर गरी दुई ओटा ब्याट्री प्याक अप्सनमा भारतीय बजारमा सार्वजनिक भएको थियो । जसमा क्रमशः १२६ किलोवाट र ९९ किलोवाटको मोटर जडित छ ।

तर नेपालमा भने यो ईभी सुरुवाती चरणमा ४२ किलोवाट आवर ब्याट्री तथा ९९ किलोवाट मोटर पावर अप्सनमा मात्रै उपलब्ध गराइएको हो ।

दक्षिण कोरियाली कम्पनीले ल्याएका अहिलेसम्मका तीन ईभी मोडेल मध्ये क्रेटालाई नै पहिलो 'किफायती' मूल्यको ईभी मानिएको छ । करिब एक दशकदेखि भारत र नेपालको बेस्ट सेलिङ एसयूभीको रूपमा स्थापित क्रेटा नै विद्युतीय भर्सनमा समेत आएको हो ।

कम्पनीका अनुसार अहिलेसम्म पेट्रोल तथा डिजेलबाट चल्ने क्रेटा एसयूभी भारतमा ११ लाख र नेपालमा १० हजार युनिट बिक्री भइसकेको  छ । भारतमा भने क्रेटा ईभीको सुरुवाती मूल्य १८ लाख भारु रहेको छ ।

कोरियाली कम्पनी भए पनि क्रेटा ईभी भारतमै निर्मित गाडी हो ।क्रेटा ईभीमा एनएमसी ब्याट्री राखिएको छ । जुन आईपी ६७ वाटरप्रपुफ तथा डस्ट प्रुफ हो । यसमा समावेश ब्याट्री हिटर प्रविधिले गर्दा -३५ डिग्री सेल्सियससम्मको चिसो मौसममा पनि गाडीले राम्रो पर्फमेन्स दिने दाबी कम्पनीले गरेको छ । 

 हुन्डाईको दाबी अनुसार ४२ किलोवाट आवर ब्याट्रीमा ३९० किमि रेन्ज दिन्छ । यो ईभीमा इको, नर्मल र स्पोर्टस गरी तीन ओटा ड्राइभिङ मोड रहेका छन् ।

गाडीको साथमा उपलब्ध हुने ११ किलोवाट एसी होम चार्जरले क्रेटा ईभीलाई केवल चार घण्टामै फुल चार्ज गर्न सक्ने दाबी गरिएको छ । डीसी फास्ट चार्जिङको कुरा गर्नु पर्दा क्रेटा ईभीलाई १०% देखि ८०% सम्म चार्ज गर्न ५० किलोवाटको चार्जरले ५८ मिनेट तथा १०० किलोवाटको चार्जरले ३९ मिनेट लाग्ने बताइएको छ । शून्यदेखि १०० किमि प्रति घण्टाको स्पिड समात्न यो ईभीलाई मात्र ७.९ सेकेन्ड लाग्ने दाबी कम्पनीले गरेको छ ।

यस्ता छन्, फिचर

आईसीई प्लेटफर्ममै निर्मित भए पनि क्रेटा ईभी अनेकन् फिचरले भरिपूर्ण छ । यसमा मनोरन्जनका लागि बोस साउन्ड सिस्टमका आठ ओटा स्पिकर, पानोरामिक सनरुफ, वायरलेस फोन चार्जिङ प्याड, ड्याशबोर्डमा हलुका घुमाउरो स्क्रिन र अल-डिजिटल ड्राइभर डिस्प्ले जस्ता फिचर छन् । 

अटोमेटिक क्लाइमेट कन्ट्रोलको साथमा ग्लोभबक्स र आर्म रेस्टमुनिको स्टोरेज कम्पार्टमेन्ट दुवैमा कुलिङ सिस्टम पाउन सकिन्छ । अगाडिका दुवै सिट भेन्टिलेटेड हुनुका साथै विद्युतीय रूपमा नै एडजस्ट गर्न सकिन्छ । गाडीमा लेभल टु एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम पनि दिइएको छ । 

क्रेटा ईभीमा आयोनिक फाइभको झल्को दिने नयाँ स्टेयरिङ ह्विल छ र जसमा चार ओटा थोप्ला भएको सङ्केत राखिएको छ, मोर्स कोडमा यसको अर्थ हुन्डाईको नामको पहिलो अक्षर अर्थात् 'H' हुन्छ ।

एउटा आकर्षक फिचर भनेको यो ईभीमा ड्राइभर वन्ली एसी मोड हो, जसले ड्राइभरको साइडमा मात्रै एयर भेन्ट्स एक्टिभ राख्ने काम गर्छ । दुवै फ्रन्ट सिटको पछाडिपट्टि फोल्ड गर्न मिल्ने ट्रे दिइएका छन्, जसले पछाडि सिटमा बसेर काम गर्न सजिलो बनाउँछ । पछाडिका झ्यालहरूका लागि म्यानुअल पर्दाको व्यवस्था पनि गरिएको छ ।

गाडीमा साइडलाइट दिँदा ड्याशबोर्डमै साइड भ्यु हेर्न मिल्छ ।  १०.२५ इन्चको डिजिटल क्लस्टर, भीटुएल, क्रुज कन्ट्रोल जस्ता फिचर पनि यो गाडीमा राखिएका छन् । २०० एमएम ग्राउन्ड क्लियरेन्स भएको क्रेटा ईभीमा आर १७ एलोय ह्विल पाउन सकिन्छ भने कम्पनीले गाडीको साथमा एउटा स्पेयर टायर समेत उपलब्ध गराउने बाचा गरेको छ ।  जब कि नेपाली बजारमा उपलब्ध अन्य ईभीले स्पेयर टायर दिँदैनन् ।

गाडीमा सुरक्षाका लागि ६ ओटा एयरब्याग, एबीएस, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर, रियर डिफगर, अटो होल्ड र फ्रन्ट क्यामेरा, फ्रन्ट राडार तथा रियर राडार सहितको एडीएएस जस्ता फिचर पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ ११:४१