close

सामाजिक सञ्जालमार्फत समाज भाँड्न खोजेको भन्दै मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

टेकपाना टेकपाना

चैत १२, २०८१ १५:३३

सामाजिक सञ्जालमार्फत समाज भाँड्न खोजेको भन्दै मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई पक्राउ गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले सामाजिक सञ्जालमार्फत समाज भाँड्ने अभिव्यक्तिहरू दिएको भन्दै बालेनलाई कानुनी कठघरामा उभ्याउन माग गरेको हो ।

मेयर बालेनको ‘टुकुचामा गाड्दिन्छु’ भन्ने अभिव्यक्ति राष्ट्र र समाजका लागि घातक रहेको युवा संघको ठहर छ । 

“आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरन्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । 

सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलबलगायत सबै आर्थिक कारोबार रोकिएपछि मेयर बालेनले संघीय सरकारप्रति चर्काे असन्तुष्टि जनाउँदै सोमबार धम्कीपूर्ण शैलीमा स्टाटस राखेका थिए ।

उनले लेखेका छन्, “काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाएका छैनन्, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु ! त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !!”

 

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १५:४७