close

आगजनीमा परी मारिका सुरेश रजकको शरीरमा गोली भेटिएको झुटो खबर फैलाउनेलाई प्रहरीले कारबाही गर्ने

टेकपाना टेकपाना

चैत १७, २०८१ १८:४८

आगजनीमा परी मारिका सुरेश रजकको शरीरमा गोली भेटिएको झुटो खबर फैलाउनेलाई प्रहरीले कारबाही गर्ने

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको भन्ने सूचना गलत समाचार राख्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी झुटो रहेको र यस किसिमको अफवाह फैलाउनलेलाई कानुनी दायरामा ल्याइने बताइएको हो । 

विज्ञप्तिमा भनिएको छ, “मृतकको पोस्टमार्टम रिपोर्ट नै आइनसकेको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाइएको छ ।” १५ चैत २०८१ मा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिएको थियो । 

नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईं अगुवाइमा भएको उक्त प्रदर्शनका क्रममा आयोजक र समर्थकहरूले हिंसात्मक तोडफोड, आगजनी जस्ता आपराधिक गतिविधि गरेको प्रहरीको भनाइ छ । तीनकुनेस्थित एक घरमा मानिस भित्रै भएको अवस्थामा आगजनी गर्दा एभिन्युज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

प्रहरीले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । साथै, घटनाबारे वास्तविकता नबुझी सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार सम्प्रेषण गर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ ।

यसअघि टेकपाना फ्याक्टचेकले पनि उक्त सूचना झुटो रहेको पत्ता लगाएको थियो । आइतबार नै टेकपानामा ‘टेकपाना फ्याक्टचेकः पोस्टमार्टम नहुँदै सुरेश रजकलाई गोली लागेको भन्दै फेसबुक पेजले फैलाएको खबर झुटो’ शीर्षकको फ्याक्टचेक प्रकाशित गरेको थियो । 

उक्त फ्याक्टचेकले पोस्टमार्टमको काम सुरु नहुँदै सामाजिक सञ्जालमा सोको रिपोर्टमा गोली लागेको देखिएको भन्दै फैलाएको सूचना झुटो भएको निष्कर्ष निकालेको थियो । त्यस क्रममा उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको र परिवारको सहमति नहुँदा पोस्टमार्टम नै हुन नसकेको पाइएको थियो ।

 

पछिल्लो अध्यावधिक: चैत १७, २०८१ १८:४८