close

फ्याक्टचेकः रवि लामिछानेले जेलमा दुःख पाएको भन्दै एआईले बनाएको भिडिओ भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

चैत २९, २०८१ २२:५२

फ्याक्टचेकः रवि लामिछानेले जेलमा दुःख पाएको भन्दै एआईले बनाएको भिडिओ भाइरल

काठमाडौं । शुक्रबार सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतमा निकै दुःख पाएको भन्ने दाबीसहितको एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा रास्वपा सभापति एवं पूर्व गृहमन्त्री लामिछानेले कारागारमा पीडा पाएको देखाइएको छ ।

भाइरल भइरहेको उक्त भिडिओमा आएका धेरैजसो प्रतिक्रिया हेर्दा मानिसहरूले त्यसलाई विश्वास गरी वर्तमान सरकारको आलोचना गरिरहेका छन् । तर, टेकपाना फ्याक्टचेकले उक्त भिडिओ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तयार पारिएको पत्ता लगाएको छ । 

दाबी

शुक्रबार, ११ अप्रिल २०२५ मा जीवन ओली नामका टिकटक प्रयोगकर्ताले एक भिडिओ राखेका थिए । टिकटकमा ‘@Jeevan.ai’ युजरनेम भएका प्रयोगकर्ताले ‘Ravi Lamichhane's new update: “जेलभित्र रविको हालत यस्तो ? हेरेपछि तपाईंको मन काँप्न सक्छ !” क्याप्सन राखेर एउटा भिडिओ राखेका छन् ।

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा १३ लाख बढी भ्युज, एक लाख बढी लाइक, ५ हजार बढी कमेन्ट, चार हजार बढी सेभ र २५०० बढी शेयर भएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल भिडिओ आर्काइभ भिडिओ

सो भिडिओमा लामिछानेले हिरासतमा दुःख पाएको र त्यसैको पीडाले रोएको देखाइएको छ । उक्त पोस्टमा आएका अधिकांश कमेन्ट हेर्ने हो भने टिकटक प्रयोगकर्ताले लामिछानेप्रति सहानुभूति प्रकट गर्दै सरकारको आलोचना गरेका छन् । केहीले भने ‘कर्मको फल पाएको’ भन्दै खिसी गरेका छन् । 

यही भिडिओ डाउनलोड गरी अन्य फेसबुक पेज र अकाउन्टबाट पनि शेयर भएको छ । फेसबुकमा शेयर भएको उक्त भिडिओको क्याप्सन टिकटकमा राखिएको भिडिओबाटै लिइएको छ । हाम्रो समाज, दीपेश सिंह,  रामेछाप नेपाल लगायतका फेसबुक पेज तथा अकाउन्टले सोही भिडिओ राखेका छन् ।

 

तथ्यजाँच

हामीले भिडिओ विश्लेषण गर्नुअघि सबैभन्दा पहिले यो भिडिओ अपलोड गर्ने टिकटक प्रयोगकर्ताको अकाउन्ट विश्लेषण गर्‍यौं । ती प्रयोगकर्ताले कतै पनि भिडिओ एआईले तयार पारेको भन्ने जानकारी दिएका छैनन् । न भिडिओमा कुनै एआको वाटरमार्क देखिन्छ । त्यसपछि हामीले उक्त अकाउन्टको युजरनेममै एआई (@zeevan.ai) उल्लेख भएको पायौं । नाममै एआई लेखेको फेला पारेपछि उक्त अकाउन्टबाट अपलोड भएका भिडिओ नियाल्यौं ।

त्यस क्रममा अधिकांश भिडिओ एआईले नै तयार पारेको देखिए । तर, ती प्रयोगकर्ताले युजरनेम बाहेक अन्त कतै पनि एआई शब्द उल्लेख नभएको पायौं । त्यसपछि लामिछानेबारे पछिल्लो समय आएका समाचार हेर्न हामीले ‘रवि लामिछाने’ कीवर्ड गुगलमा सर्च गर्‍यौं । त्यसमा उनी २२ चैतमा पक्राउ परेका समाचार फेला परे ।

समाचारका अनुसार बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिए लगत्तै उनी २२ चैतमा काठमाडौंको हात्तीगौंडास्थित निवासबाटै पक्राउ परेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा लामिछाने पक्राउ परेका विषयमा विविध किसिमका समाचार आए । खासगरी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई रिहा गर्ने उच्च अदालतको आदेश र पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशका अधिकांश लाइन हुबहु मिलेको भन्दै आलोचना भएको थियो ।

पछिल्ला दिनमा लामिछानेबारे त्यस्तो कुनै समाचार आएको छैन, जसले लामिछानेले हिरासतमा दुःख पाएको भन्नेबारे लेखेको होस् । लामिछानेले हिरासतभित्र पीडा पाएको भन्ने भिडिओ नै आइसकेपछि समाचार माध्यमले नलेख्ने भन्ने कुरा हुँदैन ।

रवि लामिछानेले दुःख पाएको दाबी गरिएको भिडिओ झट्ट हेर्दा पनि एआईले तयार पारेको भन्ने अनुमान लगाउन सकिन्छ । त्यसमा देखाइएको कोठा, लामिछाने जस्ता देखिने व्यक्तिको हाउभाउ अस्वाभाविक देखिन्छन् । तर, एआईले तयार पारेका भिडिओबारे त्यति जानकारी नभएका सर्वसाधारणले भिडिओ वास्तविक नै भएको ठानेका छन् । 

भिडिओ एआईले तयार पारेको हो वा होइन भन्ने जाँच्न हामीले हाइभ मोडेरेसन नामक एआई भिडिओ पहिचान गर्ने टुल प्रयोग गर्‍यौं । त्यस क्रममा उक्त टुलले भिडिओ एआईले तयार पार्ने सम्भावना ९९.७ प्रतिशत भएको देखायो ।

त्यस्तै इनभिड नामक टुलमा उक्त भिडिओ अपलोड गरी गरी की फ्रेम निकाल्यौं । र, त्यसलाई वाज इट एआई नामक एआई टुलमा राखेर हेर्‍यौं । उक्त टुलले पनि यो फोटो एआईले तयार पारेको पत्ता लगायो । 

यसरी विभिन्न पक्ष विश्लेषण गर्दा ‘रवि लामिछाने’ले हिरासतमा दुःख पाएको दाबी गरेको भिडिओ एआईले तयार पारेको पत्ता लाग्यो ।

दाबी

रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले हिरासतमा दुःख पाए । 

दाबीकर्ता

जीवन ओली नामक टिकटक प्रयोगकर्ता, हाम्रो समाज, दीपेश सिंह, रामेछाप नेपाल लगायतका फेसबुक पेज तथा अकाउन्ट ।

तथ्य

रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले हिरासतमा दुःख पाए भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडिओ एआईले तयार पारेको हो ।

निष्कर्ष

जीवन ओली नाम‍का टिकटक प्रयोगकर्ता र ‘हाम्रो समाज’, ‘दीपेश सिंह’, ‘रामेछाप नेपाल’ जस्ता फेसबुक पेजहरूले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा यातना दिएको भ्रामक भिडिओ फैलाइरहेका छन् । यो भिडिओ एआई प्रविधि प्रयोग गरी बनाइएको हो । लामिछानेले यातना पाएको देखाई भ्रम फैलाउने उद्देश्यले यो भिडिओ अपलोड भएको पाइएको छ । यो भ्रामक सूचना हो ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८१ २३:५