close

सामाजिक सञ्जालमा नेपाल बैंक भन्दै ठगी गिरोह सक्रिय, सावधान रहन आग्रह

टेकपाना टेकपाना

बैशाख ६, २०८२ १५:२०

सामाजिक सञ्जालमा नेपाल बैंक भन्दै ठगी गिरोह सक्रिय, सावधान रहन आग्रह

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफ्नो नाम र लोगो दुरुपयोग गरी ठगी गर्ने गतिविधि बढ्दै गएको भन्दै नेपाल बैंक लिमिटेडले ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

बैंकका अनुसार फेसबुक, एक्स, युट्युब, टिकटक, ह्वाट्सएप, इमो, भाइबर लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहहरूले बैंकको लोगो र फोटो प्रयोग गरी झूटा कर्जा स्वीकृत पत्र, चिठ्ठा, उपहार कार्यक्रम तथा अनलाइन र पार्ट–टाइम रोजगारीको प्रलोभन देखाई ठगी गर्ने प्रयास भइरहेको छ ।

साथै बैंकले सामाजिक सञ्जालमा गरेका पोष्ट र जानकारीहरूमा ग्राहकको जिज्ञासामा अनधिकृत व्यक्तिहरूले स्क्याम लिङ्क पठाउने, व्यक्तिगत विवरण माग्ने र बैंककै तर्फबाट फोन आएको भन्दै प्रलोभनमा पार्न खोजेको गुनासो बढेको उल्लेख गरेको छ ।

बैंकले यस्ता गतिविधिबाट सचेत रहन ग्राहकलाई अनुरोध गर्दै खाताको केवाईसी अपडेट, कार्ड नवीकरण, अनलाइन किनमेल प्रयोजन वा रकम जम्मा गरिदिने जस्ता विषयमा ओटीपी, लिङ्क, पिनकोड तथा पासवर्ड कहिल्यै नमाग्ने स्पष्ट पारेको छ ।

यस्ता गोप्य सूचना तथा नम्बरहरू कसैलाई पनि नदिन र सुरक्षाका उपाय अवलम्बन गर्न बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ ।

साथै, नेपाल बैंक लिमिटेडले आफ्ना आधिकारिक सामाजिक सञ्जाल पेजहरू मात्र फलो गर्न र थप जानकारीका लागि नजिकको शाखा वा ०१–५५७१२२२ नम्बरमा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १५:२२