काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट २०८१ माघ १५ गते स्वीकृत भई सूचना प्रविधि विभागले जारी गरेको डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ अनुरूप सरकारको सूचीमा एनसेल पहिलो नम्बरमा सूचीकृत भएको हो ।
डेटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम गएको आइतबार एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको कम्पनीका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले जानकारी दिए ।
हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठुला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसैगरी, एनसेलले पोखरा र हेटौँडामा गरी दुई डिजास्टर रिकभरी डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।
“हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सूचिकरणको प्रक्रिया सहज भएको हो । सूचीकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं । डेटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सूचीकरण अत्यन्त महत्त्वपूर्ण छ । यसले डिजिटल नेपाल भिजन अनुरूप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्दछ । यो सूचीकरणका लागि हामी सूचना प्रविधि विभागप्रति धेरै आभारी छौं,” एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।
सूचीकृत गर्ने प्रक्रियाका क्रममा सूचना प्रविधि विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुल लगायतका कागजात तथा विवरणहरूको गहन अध्ययन गरेको थियो ।