close

टेकपाना फ्याक्टचेकः नझुक्किनुहोस्, बालेनले सुनिता डङ्गोल लक्षित फेसबुक पोस्ट राखेका छैनन्

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख १२, २०८२ १८:२३

टेकपाना फ्याक्टचेकः नझुक्किनुहोस्, बालेनले सुनिता डङ्गोल लक्षित फेसबुक पोस्ट राखेका छैनन्

काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुकमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपमेयर सुनिता डङ्गोल लक्षित पोस्ट राखेको भन्दै एउटा पोस्ट भाइरल भइरहेको छ । बालेनको आधिकारिक फेसबुक पेजबाटै शेयर भएको जस्तो देखिने पोस्टमा ‘उखान टुक्काले पनि तिम्रो क*डो मात्र बन्छ, देश बन्दैन’ लेखिएको छ ।

तर, टेकपाना फ्याक्टचेकका क्रममा यो पोस्ट भ्रामक रहेको पत्ता लागेको छ । बिहीबार नेकपा (एमाले)ले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा उपप्रमुख डङ्गोलले ‘स्टन्टले देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छ’  भन्ने अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि उपप्रमुख डङ्गोलमाथि खनिएका सामाजिक सञ्जाल प्रयोगकर्ता बालेनको हुँदै नभएको पोस्ट एडिट गरी भ्रम फैलाएका हुन् ।

दाबी 

फेसबुकमा ज्याक खड्का नामका प्रयोगकर्ताले बिहीबार २४ अप्रिल २०२५ बेलुका ८ बजेर ४ मिनेटमा स्क्रिनशट शेयर गरेका थिए । त्यसमा उनले क्याप्सन राखेका थिए, “हैट ! अहिले सम्म त टुक्का र मुख्काले चलेकै छ ।” त्यही पोस्टमा बालेनले लेखेको दाबी गरिएको पोस्ट राखिएको छ ।

उक्त स्क्रिनशटजस्तो देखिने फोटोमा माथि बालेनको आधिकारिक फेसबुक पेजबाट दुई घण्टाअघि पोस्ट भएको देखिएको छ । त्यस्तै तल ७८ हजार रियाक्सन, सात हजार ९०० कमेन्ट र २३०० बढी शेयर आएको देखिएको छ । माथि क्याप्सन देखिने ठाउँमा ठुलो अक्षरमा 'उखान टुक्काले पनि तिम्रो क*डो मात्र बन्छ, देश बन्दैन' लेखिएको देखिन्छ । खड्काले राखेको पोस्टमा भने यो सामग्री तयार पार्दासम्म २३ कमेन्ट र ३५ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट आर्काइभ पोस्ट

यो पोस्ट राख्ने ज्याक खड्का पहिलो प्रयोगकर्ता हुन् वा उनैले बनाएका हुन् भन्ने स्पष्ट छैन । तर, धेरैले ज्याक खड्काले राखेको पोस्टको स्क्रिनशट लिँदै बालेनले उपमेयरलाई लक्षित गर्दै यस्तो स्टाटस लेखेको भनी आफ्नो धारणा राखिरहेका छन् ।

फेसबुकमा स्माइल रे नाम भएका प्रयोगकर्ताले ‘गोरखापत्र दैनिकी समाचार’ नामक ग्रुपमा ‘बालेन सर कडा’ भन्दै त्यही स्क्रिनशट राखेका छन् । उक्त पोस्टमा यो सामग्री तयार पार्दासम्म ५४८ बढी रियाक्सन, ५९ बढी कमेन्ट र ४ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क

 

नेपाली मिम स्टाटस नाम भएको फेसबुक पेजले ह्याशट्याग राखी सोही स्क्रिनशट राखेको छ । उक्त पोस्टमा १०६ रियाक्सन, ८ कमेन्ट र २ शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्क

खतिवडा योगेन्द्र नामका फेसबुक प्रयोगकर्ताले पनि त्यही पोस्ट राख्दै बालेनलाई गाली गरेका छन् । उनले बालेनले त्यस्तो लेख्न हुने मैले किन नहुने भन्ने आशयका साथ राजसंस्थाको समर्थन जनाउँदै बालेनमाथि गाली वर्षाएका छन् । उनको पोस्टमा रियाक्सन सङ्ख्या हाइड छ भने १३ कमेन्ट र २२ पटक पोस्ट शेयर भएको देख्न सकिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क

सामाजिक सञ्जाल एक्समा सुधिर आचार्य नामका प्रयोगकर्ताले पनि त्यही स्क्रिनशट राखेका छन् । उनको पोस्टमा १७०० बढी भ्युज, ३३ लाइक, ५ रिपोस्ट र ९ रिप्लाई आएको देख्न सकिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क । 

तथ्य-जाँच

सामाजिक सञ्जालमा फेसबुकमा बालेनले यस्तो पोस्ट राखेको दाबी आएपछि हामीले विश्लेषण गर्न थाल्यौं । झट्ट स्क्रिनशट हेर्ने हो भने त्यसमा राखिएको क्याप्सनको फन्ट साइज सामान्यभन्दा ठुलो छ । फेसबुक पेजमा पोस्ट राख्दा फन्ट ठुलो सानो बनाउने सुविधा हुँदैन । त्यसबाट पनि उक्त पोस्ट एडिटेड हो भन्ने पुष्टि हुन्छ ।

त्यस्तै उक्त क्याप्सन दुई लाइनको छ । फेसबुकमा दुई लाइन हुँदा ‘टेक्स्ट अलाइनमेन्ट’ लेफ्ट हुन्छ । अर्थात् एउटा लाइनमा टेक्स्ट अटाएन भने दोस्रो लाइनमा आउँदा बायाँपट्टिबाट सुरु हुन्छ । तर, यसमा बिचबाट छ । यसबाट पनि पोस्ट एडिटेड हो भन्ने पुष्टि हुन्छ । 

हामीले बालेनको फेसबुक पेज र व्यक्तिगत अकाउन्ट दुबैलाई नियाल्यौं । त्यस क्रममा पनि यस्तो कुनै पोस्ट भेटिएन ।

हामीले यही क्याप्सन कपी गरी गुगल सर्च गर्‍यौं । त्यस क्रममा बालेनले त्यस्तो पोस्ट राखेको भन्ने कुनै पनि आधिकारिक समाचार भेटिएनन् । बालेनले बिहीबार दिउँसो ३ बजे ‘कसरी महानगरलाई १ अर्ब भन्दा ठुलो क्षति हुन्थ्यो यदि यो काम भयो भने !’ भन्दै लामो पोस्ट राखेका थिए । त्यसपछि उनले कतै पनि पोस्ट राखेका छैनन् । पोस्ट राखे वा डिलिट हुनासाथ आधिकारिक स्क्रिनशटसहित तमाम् समाचार आउँछन् । यति तुच्छ शब्द प्रहार गरी गाली गर्दा कुनै समाचार नै नआउने भन्ने हुँदैन ।

दाबी

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपप्रमुख सुनिता डङ्गोल लक्षित तुच्छ शब्दसहितको स्टाटस राखे । 

दाबीकर्ता

ज्याक खड्का, स्माइल रे, नेपाली मिम स्टाटस, खतिवडा योगेन्द्र लगायतका फेसबुक पेज तथा अकाउन्ट र सुधिर आचार्य नामको एक्स ह्यान्डल ।

तथ्य

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपप्रमुख सुनिता डङ्गोललाई लक्षित कुनै पनि पोस्ट राखेका छैनन् ।  

निष्कर्ष

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपप्रमुख सुनिता डङ्गोललाई लक्षित गरी कुनै पनि पोस्ट राखेका छैनन् । उनको कुनै एउटा पुरानो पोस्टको स्क्रिनशटमा भएको क्याप्सन मेटाएर पछिबाट टेक्स्ट राखी भ्रामक पोस्ट तयार पारी भाइरल गराइएको हो । 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १९:१