काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पड्काएको भनिएको पेस्तोल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो मलंगवा नगरपालिका वडा नम्बर-५ स्थित अञ्जनी कुमारको घरबाट उक्त उपकरण बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बरामद भएको वस्तुको मुचुल्का उठाउने काम भइरहेको बताए । उनले उक्त वस्तु हेर्दै नक्कली रहेको बताउँदै आधिकारिक पुष्टि गर्न काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाइने जानकारी दिए ।
डीएसपी राईका अनुसार यो घटना वैशाख ११ गते मलंगवा नगरपालिकाकै बसन्त कुमारकी छोरी कोमल सुप्रियाको विवाहको हल्दी कार्यक्रममा भएको थियो । सामाजिक सञ्जालमा भाइरल भिडिओ फुटेजको आधारमा अञ्जनी कुमारको घरबाट उक्त शंकास्पद वस्तु बरामद गरेको राईले जानकारी दिए ।
यसअघि नेतृ डा. यादवले भाइरल भिडिओलाई लिएर स्पष्टीकरण दिएकी थिइन् । उनले एक वैवाहिक समारोहमा ‘रेन्जर टोय’ नामक खेलौनाबाट फायर गरेको र त्यसलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको बताएकी थिइन् ।
यस विषयमा सप्तरी जिल्ला प्रहरी कार्यालयले डाक्टर डा. यादवसँग पनि सोधपुछ गरिरहेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।